Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

बेलायत र विश्व बैंकको सहयोगमा हरित हाइड्रोजन पाइलट परियोजना सुरू


काठमाडौं । नेपालको स्वच्छ ऊर्जा यात्रामा नयाँ अध्याय थप्दै बुटवल पावर कम्पनी (बीपीसी) ले प्यूठानको दरिमचौरस्थित झिमरुक जलविद्युत आयोजनामा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार उक्त परियोजनाले नवीकरणीय जलविद्युतको उपयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्नेछ। १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापित यो परियोजनालाई नेपालको हरित हाइड्रोजन सम्भावनाको प्रारम्भिक परीक्षणका रूपमा हेरिएको छ।

परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) मार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, ऊर्जा मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विश्व बैंक, एफसीडीओ, नेपाल विद्युत् प्राधिकरण, प्रमुख जिल्ला अधिकारी तथा ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

बीपीसीले प्लान्टमा ५० किलोवाट क्षमताको क्षारीय इलेक्ट्रोलाइजर जडान गरेको छ, जसबाट ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्न सकिने बताइएको छ। उत्पादन गरिएको हाइड्रोजनलाई १५० बार दबाबमा सङ्कुचन गरी सिलिण्डरमा भण्डारण गरिनेछ, जसको प्रयोग विभिन्न सम्भावित क्षेत्रहरूमा परीक्षण तथा मूल्याङ्कनका लागि गरिनेछ।

चीनको सीपीयु हाइड्रोजन पावर टेक्नोलोजीले ईपीसी ठेकेदारको भूमिका निर्वाह गरेको यो परियोजना गत अप्रिल १३ देखि सञ्चालनमा आएको थियो। सोही दिन पहिलो हाइड्रोजन सिलिण्डर पनि भरिएको कम्पनीले जनाएको छ।

हरित हाइड्रोजनलाई विश्वभर न्यून-कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा लिइन्छ। यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणजस्ता क्षेत्रमा यसको प्रयोगले कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

बीपीसीका अनुसार पाइलट परियोजनाबाट हाइड्रोजन उत्पादन, भण्डारण, सुरक्षा, सञ्चालन, आर्थिक व्यवहार्यता तथा नेपालमा यसको सम्भावित प्रयोगसम्बन्धी महत्वपूर्ण अनुभव र तथ्याङ्क प्राप्त हुनेछन्। यी सिकाइहरूले भविष्यमा व्यावसायिक विस्तार, नीतिगत व्यवस्था तथा हाइड्रोजन ऊर्जाको विकासमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

नेपालले पनि दीर्घकालीन ऊर्जा रणनीतिअन्तर्गत हरित हाइड्रोजनको सम्भावनाको अध्ययन गरिरहेको छ। यसैबीच सरकारले हेटौँडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने योजना बनाएको छ, जसले यस क्षेत्रमा बढ्दो सरकारी चासोलाई संकेत गर्दछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट