Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

रुद्रशक्ति ट्राभल्सद्वारा वासरूमसहितको आधुनिक बस सेवा सञ्चालन, पूर्वी रुटका यात्रुलाई नयाँ सुविधा


काठमाडौं । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्सले वासरूमसहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार पूर्वी नेपालका रुटमा यस प्रकारको सुविधा समेटिएको बस सेवा पहिलोपटक सञ्चालनमा आएको हो।

रुद्रशक्ति ट्राभल्सले काठमाडौं–विराटनगर–काठमाडौं तथा काठमाडौं–काकडभिट्टा–काठमाडौं रुटमा दैनिक दुईतर्फी सेवा सञ्चालन गर्ने जनाएको छ। यात्रुको आराम, सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै बसमा वासरूम सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

विशेषगरी महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि लामो दूरीको यात्रामा वासरूम सुविधा उपयोगी हुने विश्वास कम्पनीको छ। यात्राका क्रममा पटक–पटक सवारी रोक्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै यात्रालाई थप सहज बनाउने उद्देश्यले यस्तो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ।

बसमा यात्रुका लागि निःशुल्क वाइफाइ, वातानुकूलित (एसी) सेवा, मोबाइल चार्जिङ पोर्ट, दुई बाइ दुई सोफा सिट तथा ब्ल्याङ्केटको व्यवस्था गरिएको छ। साथै यात्रुको स्वागतका लागि बोतलको पानी र वेलकम स्न्याक्स समेत उपलब्ध गराइने बताइएको छ।

रुद्रशक्ति ट्राभल्सका काठमाडौं व्यवस्थापक उमेशराज भण्डारीका अनुसार यात्रुलाई सुरक्षित, सुविधासम्पन्न र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले आधुनिक बस सेवा विस्तार गरेको हो।

त्यस्तै कम्पनीका व्यवस्थापक श्याम थापाले नेपाली सार्वजनिक यातायात क्षेत्रमा आधुनिक सुविधायुक्त सेवा विस्तार गर्दै यात्रुको विश्वास जित्ने लक्ष्य राखिएको बताए। उनले यात्रुको आवश्यकता र बदलिँदो अपेक्षालाई ध्यानमा राखेर आगामी दिनमा थप सेवाहरू विस्तार गरिने जानकारी दिए।

कम्पनीका अनुसार बसको टिकट बुकिङ जोरपाटी, गौशाला, कोटेश्वर, कलङ्की लगायत रुद्रशक्ति यातायात प्रालिका आधिकारिक टिकट काउन्टरहरूबाट गर्न सकिनेछ।

आधुनिक सुविधा र यात्रुमैत्री सेवासहित सञ्चालनमा आएको वासरूमयुक्त बसले विशेषगरी पूर्वी नेपाल र काठमाडौंबीच यात्रा गर्ने यात्रुहरूलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट