Techie IT
KTM Post
शनिबार, २० असार, २०८३

बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग


काठमाडौं । देशका विभिन्न भागमा परेको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार केही प्रमुख सडक खण्डहरू पूर्ण रूपमा बन्द रहेका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

काठमाडौँ र मकवानपुर जोड्ने दुई महत्त्वपूर्ण वैकल्पिक सडकहरू मर्मतका लागि लामो समय बन्द रहने भएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ देउराली देविस्थानस्थित सतुङ्गल–चित्लाङ सडक खण्ड र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक खण्ड मर्मत कार्य भइरहेकाले एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

यसैगरी बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

कोशी प्रदेशका दुई जिल्लामा मध्य पहाडी लोकमार्ग प्रभावित भएको छ। भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङवरक गाउँपालिका–२ दोभानमा बाढीका कारण सडकमा क्षति पुगेको छ। हाल यी दुवै स्थानमा सडक एकतर्फी मात्र सुचारु रहेको छ। भोजपुरमा वैकल्पिक बाटोको समेत प्रयोग गर्न सकिने जानकारी दिइएको छ।

लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा पहिरोका कारण यातायात सेवा ठप्प भएको छ। परिवर्तन गाउँपालिका–१ बाङ्गास्थित सहिद राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ, जसले गर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

720831912_1316638530598667_3541416937119403223_n

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट