संगम विष्टको स्पष्टीकरण : ‘तत्काल पक्राउ नपर्नुको अर्थ मुद्दा बेवास्ता गरिएको होइन’
काठमाडौँ । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी संगम विष्टले आफूले दर्ता गराएको बलात्कारसम्बन्धी मुद्दाबारे फैलिएका भ्रम र गलत सूचनाप्रति स्पष्ट पार्दै अभियुक्त तत्काल पक्राउ नपर्नुको अर्थ मुद्दालाई बेवास्ता गरिएको वा गम्भीरतापूर्वक नलिइएको नभएको बताएकी छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा राख्दै विष्टले अनुसन्धान प्रक्रिया कानुनी तथा क्षेत्राधिकारसम्बन्धी जटिलताका कारण प्रभावित हुन सक्ने उल्लेख गरेकी छन्। उनका अनुसार अनुसन्धान भइरहेको देशभन्दा बाहिर रहेका व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँदा केही व्यावहारिक र कानुनी चुनौतीहरू देखा पर्न सक्छन्।
विष्टले प्रहरीमा उजुरी दर्ता गरिएको र आफूले अनुसन्धानमा पूर्ण सहयोग गरेको बताएकी छन्। साथै, उक्त घटनासम्बन्धी पक्राउ पुर्जी जारी भइसकेको जानकारी आफूलाई प्राप्त भएको दाबी पनि गरेकी छन्। अनुसन्धानका क्रममा अभियुक्तसँग सम्पर्क गर्ने प्रयास गरिए पनि कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ।
उनले अभियुक्त हाल अमेरिकी क्षेत्राधिकार बाहिर रहेकाले स्थानीय निकायले प्रत्यक्ष रूपमा गर्न सक्ने काममा सीमितता रहेको उल्लेख गरेकी छन्। यही कारणले तत्काल पक्राउ प्रक्रिया अघि नबढेको हुन सक्ने उनको तर्क छ।
‘तुरुन्तै पक्राउ नपर्नुको अर्थ यो होइन कि मुद्दालाई बेवास्ता गरिएको छ,’ विष्टले लेखेकी छन्, ‘यसले केवल कानुनी र क्षेत्राधिकारसम्बन्धी चुनौतीहरूलाई देखाउँछ, जुन अभियुक्त अनुसन्धान भइरहेको देशभन्दा बाहिर हुँदा स्वाभाविक रूपमा उत्पन्न हुन्छन्।’
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा आफूले भोगेको घटनाबारे अपूर्ण जानकारीका आधारमा टिप्पणी, आरोप–प्रत्यारोप र अनुमानहरूलाई तथ्यका रूपमा प्रस्तुत गरिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन्। घटनाको पूर्ण पृष्ठभूमि नबुझी निष्कर्षमा पुग्ने प्रवृत्तिले पीडितलाई थप मानसिक दबाब सिर्जना गर्ने उनको भनाइ छ।
विष्टले आफू अहिले पनि उपचारात्मक पुनर्स्थापना (हिलिङ), मानसिक सुदृढीकरण र जीवनलाई पुनः व्यवस्थित गर्ने प्रक्रियामा केन्द्रित रहेको बताएकी छन्। उनले यस विषयमा बहसभन्दा पनि तथ्य र स्पष्टतालाई प्राथमिकता दिन आग्रह गरेकी छन्।
उल्लेखनीय छ, विष्टले यसअघि कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको आरोपसहित कानुनी प्रक्रिया अघि बढाएको सार्वजनिक गरेकी थिइन्। उक्त प्रकरणबारे पछिल्लो समय विभिन्न अड्कलबाजी र चर्चा भइरहेका बेला उनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेकी हुन्।
क्याटेगोरी : समाचार












प्रतिक्रिया