Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा महाधिवेशनमा प्रचण्ड नजाने, वर्षमान पुनले गर्ने प्रतिनिधित्व


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्। स्वास्थ्य अवस्थाका कारण उनी महाधिवेशनमा उपस्थित हुन नसक्ने भएपछि पार्टीका नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको छ।

चितवनमा आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहका लागि रास्वपाले प्रचण्डलाई निमन्त्रणा गरेको थियो। तर चिकित्सकको सल्लाहअनुसार केही दिन आराम गर्नुपर्ने भएकाले उनको सहभागिता स्थगित गरिएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

आचार्यका अनुसार प्रचण्डको स्वास्थ्यमा सुधार भए पनि पूर्ण रूपमा निको भइनसकेकाले लामो यात्रा र अत्यधिक गर्मीबाट जोगिन चिकित्सकले सुझाव दिएका छन्। प्रचण्ड जेठ १६ गते अस्पताल भर्ना भएका थिए र केही दिनको उपचारपछि डिस्चार्ज भएका थिए।

यसैबीच, रास्वपा महाधिवेशनमा नेकपा (एमाले)ले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा स्वयं सहभागी हुने कार्यक्रम रहेको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने महाधिवेशनमा सहभागी नहुने जानकारी यसअघि नै दिइसकेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट