ओलीपछि रमेश लेखकले पनि जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा दिए निवेदन
काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धान प्रतिवेदन प्राप्त गर्न पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रिय मानव अधिकार आयोगमा औपचारिक निवेदन दिएका छन्।
शुक्रबार आयोगको हरिहर भवनस्थित कार्यालयमा पुगेर दर्ता गरिएको निवेदनमा गत वर्ष भदौ २३ र २४ गते भएको घटनाबारे आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदन तथा त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन माग गरिएको छ।
लेखकले आयोग सदस्य लिली थापाको नेतृत्वमा गठित छानबिन समितिको कार्यादेश (Terms of Reference), समितिले आयोगसमक्ष बुझाएको प्रतिवेदन, साथै आफूलाई सम्बन्धित निर्णय गर्दा आधार बनाइएका प्रमाण र कागजातको प्रतिलिपि उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
यसअघि सोही दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि सोही विषयमा आयोगमा निवेदन दिएका थिए। ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले आयोगमा निवेदन दर्ता गराएका हुन्।
दुवै नेताले कानुनबमोजिम १५ दिनभित्र अनुसन्धान प्रतिवेदन, संकलित बयान तथा सम्बन्धित कागजातको प्रतिलिपि प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। एमाले नेता बर्तौलाले निर्धारित समयभित्र प्रतिलिपि उपलब्ध नगराइए सूचना प्राप्तिसम्बन्धी कानुनी प्रक्रिया अपनाउँदै आवश्यक परे अदालतसम्म जाने बताएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया