Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

किसानलाई राहतको खबर: धान दिवसकै दिन देशका धेरै ठाउँमा वर्षाको अनुमान


काठमाडौं। प्रत्येक वर्ष असार १५ गते मनाइने २३औं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रम गरी उत्साहका साथ मनाइँदैछ।

मानो रोपेर मुरी उब्जाउने यो महत्त्वपूर्ण समयमा किसानहरू खेतका गरामा व्यस्त रहँदै शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन्। असारे गर्मी र कामको चटारोले थकित शरीरलाई दही चिउराले शीतलता प्रदान गर्नुका साथै ऊर्जा सञ्चय हुने जनविश्वास छ।खेतीपातीमा संलग्न किसान मात्र नभई अन्य पेसा र व्यवसायमा रहेका नेपालीहरूले पनि आजको दिनलाई दही चिउरा खाने पर्वका रूपमा मनाउने गर्दछन्। नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ।

सांस्कृतिक महत्त्व र धान दिवसको पृष्ठभूमि

नेपाल सरकारले विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि औपचारिक रूपमा राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको हो। आजको दिन खेतका गराहरूमा असारे भाकामा लोकदोहोरी गाउँदै, छुपुछुपु हिलोमा धान रोप्ने गरिन्छ। ऐतिहासिक र आयुर्वेदिक दृष्टिले समेत स्वास्थ्यवर्द्धक मानिने दही चिउरा खाएर हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन गर्ने मौलिक परम्परा नेपाली समाजमा रहिआएको छ।

वर्षाको अभाव र किसानको चिन्ता

यस वर्ष असारको मध्य भइसक्दा पनि देशका धेरैजसो भूभागमा पर्याप्त मात्रामा मनसुनी वर्षा नभएका कारण अपेक्षित रूपमा रोपाइँ हुन सकेको छैन। आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेका क्षेत्रका किसानहरू खेत बाँझै राख्नुपर्दा चिन्तित देखिन्छन्।कृषि मन्त्रालयका अनुसार यो समयसम्म देशभर करिब २५ देखि ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको अनुमान छ। साथै, किसानहरूले समयमा रासायनिक मल नपाएको गुनासो गरे पनि मन्त्रालयले भने सरकारी गोदामहरूमा पर्याप्त मात्रामा मलको मौज्दात रहेको र वितरण प्रणाली सुदृढ बनाइँदै लगिएको दाबी गरेको छ।

मौसमको अवस्था: २-३ दिनभित्र देशभर मनसुन विस्तार हुने

रोपाइँको यो चटारोबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले किसानहरूका लागि केही राहतको खबर ल्याएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव कायम छ। बाँकी रहेका गण्डकी र लुम्बिनीका भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा आगामी २-३ दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।

आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा तथा देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

विशेष गरी कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने मधेस, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

नेपालमा धान प्रमुख खाद्यबाली भएकाले समयमै मनसुन सक्रिय भई रोपाइँ सकिएमा मात्र राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने देखिन्छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट