खाद्यान्नमा आत्मनिर्भर बन्न कृषिलाई प्राथमिकता दिन राष्ट्रियसभा सदस्यहरूको आग्रह
काठमाडौं। राष्ट्रियसभा सदस्यहरूले कृषिलाई राष्ट्रिय प्राथमिकतामा राख्दै खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुने दीर्घकालीन कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन्।
सोमबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानमैत्री नीति निर्माणमा जोड दिएका हुन्।सांसद दुर्गा गुरुङले गरिब, सीमान्तकृत र भूमिहीन समुदायको हकहितलाई केन्द्रमा राखेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी, निष्पक्ष र योग्यतामा आधारित बनाउनुपर्ने धारणा राखे। उच्च शिक्षाको गुणस्तर सुधारका लागि नेतृत्व चयनमा स्पष्ट मापदण्ड आवश्यक रहेको उनको भनाइ थियो।सांसद सम्झना देवकोटाले धान तथा बीउ उत्पादनमा आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरिन्। उनले कृषिमा आधुनिक प्रविधिको प्रयोग र किसानलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने बताइन्।
त्यस्तै, सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरसम्बन्धी उठिरहेका प्रश्नलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई सुझाव दिए। उनले प्रभावित नागरिकका समस्याको दिगो समाधान खोज्नुपर्नेमा जोड दिए।सांसद विष्णुकुमारी सापकोटाले बालबालिकालाई कुनै पनि राजनीतिक दलको सदस्य बनाउने वा राजनीतिक गतिविधिमा प्रयोग गर्ने कार्य उचित नहुने धारणा व्यक्त गरिन्। उनले बालअधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा सबै पक्ष संवेदनशील हुनुपर्ने बताइन्।
राष्ट्रियसभा सदस्यहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनहितका मुद्दामा प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया