भेनेजुएलामा भूकम्प गएको ६ दिनपछि ३ वर्षीय बालकको जीवितै उद्धार
भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको ६ दिनपछि ३ वर्षीय बालकको जीवितै उद्धार भएको छ ।
ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भनेकी बीबीसीले जनाएको छ । राजधानी काराकासमा उपचार गराइरहेका बालकको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
यसैबीच भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९४३ जना पुगेको छ । १० हजारभन्दा धेरै घाइते भएका छन् । हजारौँ मानिस अझै हराएका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार झन्डै ५९ हजार भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सबैभन्दा प्रभावित ला ग्वाइरा क्षेत्रमा खाद्यान्न अभाव, स्वास्थ्य सेवामा चाप र सञ्चार संरचना भत्किएका कारण स्थिति दिनप्रतिदिन कठिन बन्दै गएको छ । खाद्य सामग्री वितरणका क्रममा पीडितबीच झगडासमेत हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यही बेला दादुराजस्ता रोग फैलिने जोखिम बढेको चेतावनी दिएको छ । अमेरिका, मेक्सिकोसहित दर्जनौँ देशका उद्धार टोली अझै पनि सम्भावित जीवित मानिसहरूको खोजीमा लागिपरेका छन् ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया