कंगोको चुनौती पन्छाउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुग्यो
काठमाडौं । कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको जर्जिया राज्यस्थित मर्सिडीज–बेन्ज स्टेडियममा सम्पन्न राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा इङ्ग्ल्यान्डले प्रजातान्त्रिक गणतन्त्र कंगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो।४८ टोली सहभागी नयाँ विश्वकप संरचनाअन्तर्गत समूह चरण पार गरेपछि इङ्ग्ल्यान्डले ऐतिहासिक राउन्ड अफ ३२ को चुनौती पनि सफलतापूर्वक पार गरेको छ।
खेलको सुरुआतमा भने कंगोले अग्रता लिएर इङ्ग्ल्यान्डलाई दबाबमा पारेको थियो। सातौँ मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई १–० को अग्रता दिलाएका थिए।कंगोले लामो समयसम्म अनुशासित रक्षात्मक खेल प्रस्तुत गरेपछि इङ्ग्ल्यान्डलाई बराबरी गोल गर्न कठिन भएको थियो।
तर खेलको उत्तरार्धमा कप्तान केन टोलीका लागि संकटमोचक बने।उनले ७५औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि थप आक्रामक बनेको इङ्ग्ल्यान्डका लागि केनले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को निर्णायक अग्रता दिलाए।बाँकी समयमा कंगोले खेलमा फर्किने प्रयास गरे पनि इङ्ग्ल्यान्डको रक्षापंक्तिले त्यसलाई विफल बनायो। हारसँगै कंगोको विश्वकप यात्रा समाप्त भएको छ भने इङ्ग्ल्यान्ड उपाधितर्फ थप एक कदम अगाडि बढेको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया