६ महिनामै ७१ जिल्लामा फैलियो डेंगु, एक हजारभन्दा बढी सङ्क्रमित, दुईको मृत्यु
काठमाडौं । मुलुकमा मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण तीव्र गतिमा फैलन थालेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारीजन्य रोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी०का अनुसार गत पुस १७ देखि हालसम्म १ हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
६ महिनाको अवधिमा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्म ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । झापा, सुनसरी, कास्की, चितवन, काठमाडौँ, ओखलढुंगा, मकवानपुर, पाल्पा, चितवन सहितका जिल्लामा डेंगुका बिरामी देखिएका छन् ।
कुल सङ्क्रमित सङ्ख्यामध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा २९२ जना र बागमती प्रदेशमा २६४ जना भेटिएका छन् । यस्तै मधेस प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बिनी प्रदेशमा १६७ जना, कर्णाली प्रदेशमा ३७ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लागत रूपमा हेर्दा झापा १३८ केससहित सबैभन्दा बढी प्रभावित बनेको छ भने काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा ५०, कास्कीमा ४४, ओखलढुङ्गा र चितवनमा ३९, पाल्पामा ३४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
अत्यधिक पेट दुखाई, रक्तश्राव, बेहोस हुनु डेंगुका कडा लक्षण हुन् । स्वास्थ्य वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालभर ५४ हजार ३५० जना डेंगुबाट संक्रमित भएका थिए । २०८०/०८१ मा ४८ हजार ८८३ जना र त्यसअघिको वर्ष २०७९/०८० मा ५६ हजार ३३८ जना सङ्क्रमित भएका थिए, जसले डेंगु सङ्क्रमणको सङ्ख्या वर्षैपिच्छे उतारचढाव भइरहेको देखाउँछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि सरकारले आगामी आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । आगामी आर्थिक वर्षमा स्थानीय तहहरूमा डेंगु सङ्क्रमण फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अर्थात् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
साथै, जिल्लास्तरमा स्थानीय तहसँग समन्वय कायम गर्न प्रत्येक जिल्लाका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
डेंगीबाट बच्न पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्नुपर्छ । यस्तै, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानहरूमा फालिएका काम नलाग्ने भाँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जम्न सक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ । छाला तथ अन्य स्थानमा जथाभावी फालिएका सवारी साधनका टायरलाई पानी जम्न नपाउने गरी छोपेर राख्नुहोस् वा आकाशे पानीको पहुँचबाट टाढा हुनुपर्छ ।
घर बाहिर वा भित्र राखिएका फूलका गमला वा गमला मुनिका प्लेटमा जमेको पानी कम्तीमा हप्ताको एक पटक फालेर गमला तथा प्लेटलाई राम्रोसँग सफा गर्नुपर्छ ।
बिहान, दिउँसो, राति जुनसुकै बेला सुत्दा पनि झुलको प्रयोग गर्नुपर्ने, घरभित्र लामखुट्टे छिर्न नदिन सम्भव भएसम्म झ्याल तथा ढोकामा सानो प्वाल भएको जाली प्रयोग गर्ने र पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउन सुझाव दिएको छ ।
क्याटेगोरी : स्वास्थ्य/जीवन शैली













प्रतिक्रिया