अमेरिकाले विश्वकप जिते फुटबल चन्द्रमामा लैजाने
काठमाडौं । भविष्यमा फिफा विश्वकप जित्न सफल भए फुटबललाई चन्द्रमासम्म पुर्याउने योजना रहेको अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले जनाएको छ । नासाका अधिकारीहरूले यसलाई अहिलेका लागि सम्भावित योजनाका रूपमा प्रस्तुत गरेको छ ।
यस योजना अमेरिकी अन्तरिक्षयात्री एलन शेपर्डसँग जोडिएको ऐतिहासिक घटनाबाट आएको हो । शेपर्ड चन्द्रमामा पाइला टेक्ने पाँचौँ व्यक्ति थिए ।
सन् १९७१ मा भएको एपोलो–१४ अभियानको अन्त्यतिर शेपर्डले आफूले गोप्य रूपमा साथमा लगेका सानो गल्फ क्लब र बल निकालेका थिए । त्यसपछि उनले चन्द्रमाको सतहमा दुई सट खेलेका थिए । चन्द्रमाको न्यून गुरुत्वाकर्षणका कारण ती बलहरू पृथ्वीको तुलनामा निकै टाढासम्म पुगेका थिए । यो घटना अन्तरिक्ष इतिहासका सबैभन्दा चर्चित र स्मरणीय क्षणहरूमध्ये एक मानिन्छ ।
नासाको मुन बेस कार्यक्रमका प्रबन्धक कार्लोस गार्सिया–गालनले यसको सम्भावनाबारे प्रतिक्रिया दिएका छन् । उनका अनुसार, अमेरिकी पुरुष फुटबल टोलीले भविष्यमा फिफा विश्वकप जित्न सफल भए चन्द्रमामा फुटबल पुर्याउने विषयलाई मिसनको योजनामा समावेश गर्न सकिन्छ । त्यसका लागि केही अतिरिक्त वैज्ञानिक तयारी र विशेष उपकरण आवश्यक पर्ने उनले बताए ।
यद्यपि, उनले यो टिप्पणी ठट्टापूर्ण शैलीमा गरेका थिए । उनले भने, “अब सबै कुरा अमेरिकी पुरुष फुटबल टोलीमा निर्भर छ । यदि टोलीले विश्वकप जितेर फर्कियो भने फुटबल पनि इतिहास रच्दै चन्द्रमासम्म पुग्न सक्छ ।”
क्याटेगोरी : अन्तराष्ट्रिय, खेलकुद













प्रतिक्रिया