विश्वकपमा नयाँ विवाद: रातो कार्ड पाएका बालोगुनलाई खेल्न दिने फिफाको निर्णय, ट्रम्पले दबाब दिएको भन्ने चर्चा!
काठमाडौं। अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथि लागेको एक खेलको स्वतः निलम्बन फिफाले स्थगित गरेपछि विश्वकपमा नयाँ विवाद सुरु भएको छ। रातो कार्ड पाएपछि अर्को खेल अनिवार्य रूपमा गुमाउनुपर्ने प्रचलित नियमबीच फिफाको निर्णयले निष्पक्षता र समान व्यवहारबारे प्रश्न उठाएको हो।
बालोगुनले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्धको समूह चरणको खेलमा रातो कार्ड पाएका थिए। प्रतियोगितामा तीन गोल गर्दै अमेरिकाका शीर्ष गोलकर्ता बनेका उनी नकआउट चरणको पहिलो खेल गुमाउने अनुमान गरिएको थियो। तर फिफाले अनुशासनात्मक कारबाही स्थगित गरेपछि उनी बेल्जियमविरुद्धको अन्तिम–१६ को खेलमा मैदान उत्रिन पाउने भएका छन्।
फिफाले यो निर्णय आफ्नो अनुशासन संहिताको धारा २७ अनुसार गरिएको जनाएको छ। तर निलम्बन किन स्थगित गरिएको हो भन्नेबारे विस्तृत व्याख्या सार्वजनिक नगरेपछि निर्णयको पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ। विश्वकप इतिहासमा यस्तो व्यवस्था पहिलोपटक प्रयोग गरिएको बताइएको छ। यसअघि सन् १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चा रातो कार्ड पाएपछि पनि अर्को खेल खेलेका विरलै उदाहरणमध्ये एक मानिन्छन्।
निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय फुटबल वृत्तमा अमेरिकालाई विशेष सुविधा दिइएको आरोप लगाइएको छ। प्रतियोगिताका सबै टोलीका लागि समान नियम लागू हुनुपर्ने मान्यताविपरीत निर्णय भएको भन्दै आलोचना बढिरहेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग बालोगुनको निलम्बन पुनरावलोकन गर्न आग्रह गरेको भन्ने समाचार केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्। यद्यपि उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
उता बेल्जियम फुटबल संघले फिफाको निर्णयप्रति औपचारिक असन्तुष्टि जनाउँदै प्रतियोगिताको निष्पक्षता र नियमको मर्मविपरीत कदम भएको प्रतिक्रिया दिएको छ। संघले सबै सहभागी टोलीका लागि एउटै मापदण्ड लागू हुनुपर्नेमा जोड दिएको छ।
फुटबल विश्लेषकहरूले पनि यस निर्णयले भविष्यमा रातो कार्डसम्बन्धी अनुशासनात्मक कारबाहीमाथि थप कानुनी विवाद र अपिल बढ्न सक्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यस्तो निर्णयले विश्व फुटबलमा अनुशासनात्मक प्रक्रियाप्रति विश्वास कमजोर बन्ने जोखिम समेत बढाएको छ।
अब बेल्जियमविरुद्धको अन्तिम–१६ को खेलमा बालोगुनको उपस्थितिमात्र होइन, फिफाको निर्णय पनि सबैभन्दा बढी चर्चाको विषय बन्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया