Techie IT
KTM Post
शनिबार, २७ असार, २०८३

एल निनोको प्रभाव यो वर्षभरि नै उच्च रहने वैज्ञानिकहरूको निष्कर्ष


काठमाडौं । प्रशान्त महासागरमा अहिले देखिएको एल निनो यो वर्षभरि नै शक्तिशाली रहने सम्भावना ९७ प्रतिशत रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।

अमेरिकी मौसम तथा जलवायु वैज्ञानिकहरूले गरेको पूर्वानुमान अनुसार एल निनोको शक्तिशाली प्रभाव सन् २०२७ को प्रारम्भिक वसन्त अर्थात मार्च–अप्रिलसम्म रहने देखिएको हो । वैज्ञानिकहरूका अनुसार एक महिना अघिदेखि तीव्र बन्दै गएको एल निनो आउँदो अक्टोबर देखि डिसेम्बरसम्म अत्यन्त शक्तिशाली रहने सम्भावना ८१ प्रतिशत रहेको छ ।

त्यो समयमा एल निनोको प्रभाव सन् १९५० यताकै शक्तिशाली हुने वैज्ञानिकहरूको निष्कर्ष छ । भूमध्यरेखीय प्रशान्त महासागरको मध्य र पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा एक डिग्री सेल्सियसभन्दा बढी रहेको छ । भूमध्यरेखीय प्रशान्तको समुद्रभित्रको तापक्रम पनि वृद्धि भएको छ । वायुमण्डलीय अवस्थाले पनि एल निनोलाई थप बलियो बनाइरहेका वैज्ञानिकहरूको विश्लेषण छ । अन्य अवस्थाहरूले पनि एल निनो थप शक्तिशाली भइरहेको सङ्केत गरेका छन् ।

प्राकृतिक मौसमी चक्रकै रूपमा रहने एल निनोले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ । प्रशान्त महासागरबाट उठेको तातो वाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई कमजोर बनाउने भएकोले त्यसको प्रभाव नेपाल पनि सिधै पर्छ ।

एल निनो शक्तिशाली भइरहेकोले साउनको पहिलो हप्ता पछि नै नेपालमा मनसुनी वर्षा कमजोर हुन थाल्ने मौसमविद्हरूको अनुमान छ । यस्तै अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रहने अनुमानका कारण नेपालमा आउँदो हिउँद पनि सुख्खा हुने सम्भावना बढेको छ ।

नेपालमा पछिल्ला वर्षहरूमा लगातार हिउँदमा कम पानी परिरहेको छ । एल निनोको प्रभाव हिउँद हुँदै आउँदो प्रि–मनसुनसम्म पनि पर्ने देखिन्छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट