रास्वपाभित्रको सोम शर्मा–पूजा बास्तोला विवाद टुंगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा हालै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य सोम शर्मा र पार्टीकी युवा नेत्री पूजा बास्तोलाबीच देखिएको विवाद अन्ततः समाधान भएको छ।
पार्टीभित्र आन्तरिक सहमति जुटेसँगै शर्मा केन्द्रीय सदस्यकै जिम्मेवारीमा रहने निश्चित भएको छ। यससँगै महाधिवेशनपछि देखिएको विवाद औपचारिक रूपमा अन्त्य भएको संकेत पनि मिलेको छ।
यसैबीच निर्वाचन आयोगले बिहीबार शर्मा महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रहेको आधिकारिक पत्र प्रदान गरेको छ। आयोगको उक्त पत्रसँगै उनको केन्द्रीय सदस्य पदले कानुनी मान्यता प्राप्त गरेको छ भने पार्टीभित्रको सहमतिले राजनीतिक रूपमा पनि उनको जिम्मेवारी थप स्पष्ट भएको छ।
विवाद समाधान भएको संकेतस्वरूप नेता शर्माले सामाजिक सञ्जालमा नेत्री पूजा बास्तोलासँगको तस्बिर सार्वजनिक गरेका छन्। स्टोरीमार्फत तस्बिर साझा गर्दै उनले “सम्मान तथा साथ युवा नेत्री पूजा बास्तोला” भन्ने सन्देश लेखेका छन्।
शर्माको उक्त पोस्टलाई पार्टीभित्र देखिएको मतभेद अन्त्य भएको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया