Techie IT
KTM Post
मंगलबार, १९ जेठ, २०८३

लालसलाम, राजनीतिका मार्गदर्शक कमरेड निर्मल लामा


नाम्गेल मोक्तान

काठमाडौं । भोजन नलीको क्यान्सरका कारण २०५७ बैशाख २६ गते निधन हुनुभएका कमरेड निर्मल लामाको २६ औँ स्मृति दिवस सम्पन्न भैसकेको छ। यो हप्ताभरी नै उहाँको स्मृतिमा चर्चा परिचर्चा भैरहेका छन। स्मृति सन्दर्भ पर्दा मात्र होइन, उहाँ हरेको दिन र हरेक चरणमा चर्चायोग्य व्यक्तित्व हो।

नेपाली कम्युनिष्ट आन्दोलनका एक शिखर व्यक्तित्व क. निर्मल लामा कम्युनिष्ट, बाम र लोकतान्त्रिक आन्दोलनको लागि मात्र होइन, देशभक्ति र युवाहरूको आन्दोलनको लागि पनि एक प्रेरणादायी व्यक्तित्व हो।

भारत, खर्साङको चिया मजदुर परिवारमा जन्मिएर नेपाली जनताको मुक्तिका लागि लड्ने र एक सादगी क्रान्तिकारी नेतृत्व गुण छाडेर जाने क. लामा युगान्तरसम्म नेपाली मुक्तिकामी जनताको मन मस्तिष्कमा रहनुहुने छ।

एक क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवसम्मको उच्च नेतृत्व उहाँले पंचायत कालको मध्यतिरै हासिल गर्नुभएको हो। तामाङ समुदायबाट त्यति उच्चस्तरको नेता हामीले अहिलेसम्म पाउन सकेका छैनौं। त्यसैले उहाँको मृत्युमा बिशाल र्‍याली आफसेआफ तथा स्वतस्फूर्त बनेको थियो। आदरणीय नेता एवम् कांग्रेसका सोसलिस्ट लिजेण्ड भीमबहादुर तामाङ स्वयं क. लामाको शव यात्रामा निवास म्हैपीदेखि स्वयम्भुसम्म पैदल हिंनुभएको थियो।

त्यस शव यात्राकै क्रममा भीमबहादुरज्यूले मसँग भन्नुभएको थियो- निर्मल लामा नेपालको प्रजातान्त्रिक आन्दोलनकै विशिष्ट नेता हो।

क. लामासँग मेरो देखादेख त धेरैपटक भएको हो। उहाँको उपचार सहयोग समितिमा म पनि थिएँ, जुन जनस्तरबाटै बनेको थियो। उहाँको मृत्यु अगाडि म टिचिङ हस्पिटलमा पुगेको थिएँ। उहाँले अब म धेरै दिन रहँदिन, कम्युनिष्ट र जनपक्षीय आन्दोलन तपाईं युवाकै हातमा छ भन्नुभएको थियो।

कतिपय खास सन्दर्भका अभियान र भेटघाटबाट उहाँसँग म अति नै प्रभावित हुन पुगें।

तिनताका म नेकपा मसालको कार्यकर्ता, हाम्रो खुला मोर्चा राष्ट्रिय जनमोर्चा र तत्कालीन नेकपा एकताकेन्द्रको खुला मोर्चा संयुक्त जनमोर्चा, नेपालबीच समसामयिक आन्दोलनका लागि साझा राष्ट्रिय जनतान्त्रिक मोर्चा बनेको थियो। यसले राष्ट्रघाती महाकाली सन्धिका विरुद्धमा व्यापक आन्दोलन छेडेको थियो। त्यसमा क. लामाले अग्रणी नेतृत्व गर्नुभएको थियो।

त्यहीबेला हामी सँगसँगै महाराजगन्जको रोमियो हलमा हप्तौं बन्दी बनेका थियौं। ७२ जनालाई राखिएको त्यस कस्टडीबाट उहाँलाई छुट्याएर अलग्गै राख्ने योजना प्रशासनले बनाएको थियो। तर उहाँले मान्नुभएन। म साथीहरूलाई छाडेर एक्लै कुनै अतिरिक्त सुबिधा लिन चाहन्न भनेर उहाँले प्रष्ट भन्नुभएको थियो।

सेन्ट्री गर्ने प्रहरीको ड्युटी परिवर्तन भैरहने र प्रत्येक नयाँ प्रहरीले कतिजना छन् भनेर गनिरहने। हामी भने प्रहरीलाई हैरानी होस् भनेर कहिले ७०, कहिले ७१ पुग्नेगरी छलिन्थ्यौं। यो थाहा पाएर क. लामाले हामीलाई सचेत बनाउनुभयो। यो प्रहरीको ड्युटी हो, हामी क्रान्तिकारीहरू अनुशासित हुनुपर्छ, छलछाम गर्नुहुँदैन भन्नुहुन्थ्यो।

उहाँले हामी सबै बन्दीहरूलाई खाने, सुत्नेमा मात्र सीमित हुन दिनुभएन। विभिन्न सैद्धान्तिक, राजनीतिक र व्यवहारिक प्रशिक्षण दिईरहनुभयो। ग्रुप बनाएर डिस्कस गराउनुहुन्थ्यो।

त्यहीबीच कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको निधन भयो। र, आन्दोलन पनि स्थगित भएर हामी हिरासत मुक्त भयौं।

सबै क्रान्तिप्रेमी र अझ आजको नयाँ पुस्ताका लागि क. निर्मल लामाले उहिल्यै स्पष्ट सन्देश दिनुभएको छ- राजनीति केवल सत्ता केन्द्रीत वा चुनाव जित्ने माध्यम होइन, समाज परिवर्तनको अभियान हो।

कम्युनिष्ट पार्टीका नेता विलासी भए, कार्यकर्ता अध्ययनविहीन भए, पार्टी जनताबाट टाढियो र राजनीति केवल सत्ता केन्द्रित बन्यो भने क. निर्मल लामाको नाम लिइरहनुको कुनै अर्थ रहँदैन। उहाँलाई साँचो श्रद्धाञ्जली भनेको स्वच्छ राजनीति गर्नु हो, जनताको पक्षमा उभिनु हो, अन्यायविरुद्ध संघर्ष गर्नु हो, विचार र नैतिकताको राजनीति पुनर्जीवित गर्नु हो।

हालैको जेनजी आन्दोलनले पनि के देखाएको छ भने आन्दोलन जति नै शक्तिशाली किन नहोस्, त्यसमा सिद्धान्तनिष्ठा, स्पष्ट दिशा र संरचना नभए त्यो सजिलै सत्ताको भर्याङ बन्न सक्छ। आन्दोलनको ऊर्जालाई अवसरवादी राजनीतिक दल र व्यक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गरेर मूल मागहरूलाई कमजोर बनाउने र आन्दोलनलाई आफ्नो राजनीतिक लाभको साधन बनाउने खतरा रहन्छ।

आजको उत्तेजक, अवसरवादी र दलाल पुँजीवादी अवस्थाको विकल्प भन्नु निर्मल लामाले देखाएको बाटो नै हो।

अटल सिद्धान्तनिष्ठा, इमानदारीता, जनतासँगको गहिरो सम्बन्ध र निरन्तर संघर्षमार्फत मात्र नयाँ पुस्ताको आन्दोलन सच्चा तथा जनपक्षीय बन्न सक्छ। नत्र, जति नै ठूलो भीड र डिजिटल तीव्रता किन नहोस्, आन्दोलन अन्ततः केही व्यक्तिहरूको सत्तारोहणको भर्याङ बन्ने आजकै जस्तो जोखिम रहन्छ।

क. निर्मल लामाको अटल क्रान्तिकारी निष्ठाले प्रमाणित गर्छ कि सच्चा परिवर्तनकारी आन्दोलन व्यक्तिगत महत्वाकांक्षा वा गुटबाट होइन, सामूहिक समर्पण, नैतिक दृढता र जनकेन्द्रित सोचबाट मात्र निर्माण हुन्छ।

आजको पुस्ताले यही विरासतलाई आत्मसात् गरे मात्र उनीहरूको आन्दोलन सडकबाट सत्तासम्मको भर्याङ बन्नेछैन। बरु साँच्चिकै जनताको मुक्ति र समाज परिवर्तनको शक्ति बन्न सक्छ।

क.निर्मल लामा एउटा व्यक्ति मात्र होइन, एउटा राजनीतिक संस्कार हो। एउटा नैतिक मापदण्ड हो। एउटा अधुरो सपना हो। उहाँको सम्झना अब भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। काम गरेर, संघर्ष गरेर, जनताको पक्षमा उभिएर र राजनीति सफा बनाएर मात्र उहाँप्रति साँचो सम्मान व्यक्त गर्न सकिन्छ।

“मेरो सम्झना गरि खाने वर्गले गरोस्, काम गरेर, क्रान्ति गरेर” भन्ने उहाँको सन्देश आज पनि नेपाली राजनीतिका लागि मार्गदर्शन बनेर उभिएको छ।

(लेखक बामपंथी नेता हुन्।)


क्याटेगोरी : विचार

प्रतिक्रिया


ताजा अपडेट