कक्षा ११ छात्रवृत्तिका लागि आज परीक्षा, २६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिको प्रवेश परीक्षा आज ९आइतबार सञ्चालन गर्दैछ। बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षाका लागि महानगरले ८३ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।
महानगरपालिका क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययनका लागि उपलब्ध गराइने छात्रवृत्तिका लागि यस वर्ष २६ हजार ६८० विद्यार्थी परीक्षा दिन योग्य भएका छन्। कुल २६ हजार ८८८ आवेदनमध्ये २०८ वटा आवेदन आवश्यक मापदण्ड पूरा नभएका कारण अस्वीकृत गरिएको शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए।
महानगरका अनुसार परीक्षार्थीहरूले आवेदन दिएको अनलाइन प्रणालीमार्फत प्राप्त रङ्गीन प्रवेशपत्र प्रिन्ट गरी परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ। साथै, प्रवेशपत्रसँगै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। एसईई प्रवेशपत्र, विद्यालय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रलाई मान्य कागजातका रूपमा स्वीकार गरिनेछ।
काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन २०८० सालदेखि प्रवेश परीक्षा प्रणाली लागू गरेको हो। मेयर बालेन्द्र शाहको कार्यकालमा सुरु गरिएको उक्त कार्यक्रमबाट हालसम्म देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।
गत वर्षको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। तीमध्ये १० हजार ८६७ जना उत्तीर्ण भए पनि योग्यताक्रमका आधारमा करिब ४ हजार ५०० विद्यार्थीले मात्रै छात्रवृत्ति प्राप्त गरेका थिए। यस वर्ष भने परीक्षार्थीको संख्या गत वर्षको तुलनामा झण्डै दोब्बर पुगेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया