प्रचण्डको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं । अस्पतालमा उपचाररत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्यमा यस्तै सुधार जारी रहेमा उनलाई भोलि नै अस्पतालबाट डिस्चार्ज गर्न सकिने सम्भावना रहेको छ।
प्रचण्डलाई शनिबार बिहान उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। केही दिनदेखि ज्वरोको समस्या देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा ‘माइल्ड निमोनिया’ पुष्टि भएको र थप निगरानी तथा उपचारका लागि अस्पताल भर्ना हुन सुझाव दिइएको थियो।
आइतबार बिहान अस्पताल पुगेर प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताएका छन्।
प्रचण्ड जेठ ७ र ८ गते सुदूरपश्चिमस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि अस्वस्थ भएका थिए। स्वास्थ्य समस्याकै कारण उनी जेठ १५ गते बजेट प्रस्तुत गरिएको दिनको संघीय संसद् बैठकमा समेत उपस्थित हुन सकेका थिएनन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया