पूर्वप्रहरी गणेश कार्की गोली लागेर पक्राउ, श्रृंखलाबद्ध अपराधमा संलग्न रहेको आरोप
काठमाडौं । जडीबुटी क्षेत्रमा प्रहरी कारबाहीका क्रममा गोली लागेर पक्राउ परेका ४० वर्षीय गणेश कार्की विभिन्न आपराधिक घटनामा संलग्न पूर्व प्रहरी कर्मचारी तथा कारागारबाट फरार अभियुक्त रहेको खुलेको छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ चपली भद्रकाली निवासी कार्की २०६१ सालमा प्रहरी जवान पदमा भर्ना भएका थिए। उनले २०६४ सालमा प्रहरी सेवा छाडेका थिए। त्यसयता उनीविरुद्ध विभिन्न फौजदारी मुद्दा दर्ता हुँदै आएका छन्।
प्रहरी अभिलेखअनुसार २०६४ सालमै उनीविरुद्ध अभद्र व्यवहार तथा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको थियो। त्यसपछि २०६८ सालमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई उनले २०७८ असोजसम्म कैद सजाय भुक्तान गरेका थिए।
सजाय पूरा गरेपछि पनि उनी आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ। २०७८ सालमा चोरी तथा डाँकाचोरी सम्बन्धी मुद्दामा पुनः पक्राउ परेका कार्कीलाई २०७९ सालमा डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय सुनाइएको थियो। सोही सजाय भुक्तानका क्रममा केन्द्रीय कारागारमा रहेका उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए।
फरार भएपछि कार्कीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चोरी, लुटपाट तथा प्रहरीको परिचय दुरुपयोग गरी आपराधिक गतिविधि सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कपन क्षेत्रमा पक्राउ गर्न पुगेका सादा पोशाकका प्रहरीमाथि धुलो र खुर्सानी छर्केर उनी भाग्न सफल भएका थिए। साथै गौशाला, पिङ्लास्थान, शान्तिनगर, तिलगंगा, पशुपति क्षेत्र, जोरपाटी र विमानस्थल आसपासका क्षेत्रमा उनले आफूलाई प्रहरी परिचय दिँदै लुटपाट तथा आपराधिक गतिविधि गरेको आरोप छ।
सुन्दरीजलबाट स्कुटर चोरी गरी कलंकी क्षेत्रमा छाडिएको घटनामा समेत उनको संलग्नता रहेको प्रहरीको दाबी छ।
कार्कीको खोजीका क्रममा प्रहरीले गएराति काठमाडौंको जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकबाट उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ गर्ने क्रममा उनको बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। घाइते कार्कीलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया