Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

६.५ करोड ठगी मुद्दामा टिकटककर तुलसा अधिकारी अदालत पेश हुँदै


काठमाडौं । थाइल्याण्डमा पक्राउ परेर नेपाल ल्याइएकी टिकटककर तुलसा अधिकारीलाई सोमबार जिल्ला अदालतमा पेश गरिँदैछ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी तीन फरक मुद्दामा पुर्पक्ष प्रक्रिया अघि बढ्ने प्रहरी जनाएको छ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले दिएको जाहेरीका आधारमा ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको हो। उक्त जाहेरी २०८२ साउन २४ गते दर्ता भएपछि तुलसा फरार भएकी थिइन्।

प्रहरीका अनुसार उनी पहिले चीनका विभिन्न भागमा रहेको सूचनाका आधारमा खोजीमा थिइन्। पछि इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको हो। यसअघि उनीविरुद्ध डिफ्युजन नोटिस (रेडकर्नर नोटिस) समेत जारी गरिएको थियो।

विवाहेत्तर सम्बन्धदेखि धम्की र रकम असुलीसम्मको आरोप

अनुसन्धान अनुसार व्यवसायी चिमोरियासँगको विवाहेत्तर सम्बन्ध बिग्रिएपछि तुलसाले जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिँदै पटक–पटक पैसा र गरगहना लिएको आरोप छ।

प्रहरी अनुसन्धानमा उनको बैंकिङ कारोबार २० करोडभन्दा बढी भएको देखिएको छ। फरार अवस्थामै नेपालका बैंक खातामा १ करोडभन्दा बढी मौज्दात पनि भेटिएको छ। कुल सम्पत्तिको अनुमान १६–१७ करोड रुपैयाँसम्म रहेको अनुसन्धान स्रोतले जनाएको छ।

प्रहरी अधिकारीसमेत मुछिएको विवाद

साउन २४ मा उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएपछि तुलसा भदौ १९ पछि काठमाडौंबाट हराइन् । आफू चीनमा रहेको भन्दै भिडिओ सन्देश दिने गरेकी थिइन् । त्यसक्रममा प्रहरी वृत्त, सातदोबाटोकी इञ्चार्ज डीएसपी पूर्णिमा चन्दसँग आफ्नो कारोबार रहेको भनी उनलाई विवादमा मुछिन् । तर, उनीविरुद्धको जाहेरी दर्ता हुँदा डीएसपी चन्द जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत थिइन् ।

त्यसअघि प्रहरी वृत्त, स्वयम्भूको इञ्चार्ज भएको समयमा तुलसाको पसलबाट गरगहना खरिद गरेको, तर पैसा तिर्न बाँकी नरहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको अनुसन्धानरत प्रहरीले बताए । यसबारे नेपाल प्रेसले फागुन १९ गते अनुसन्धानबारे ललितपुर प्रहरीसमक्ष जिज्ञासा राख्दा सम्बन्धित अधिकृतले भनेका थिए, ‘उहाँ (पूर्णिमा) ले ३-४ वर्षअघि तुलसाको पसलबाट सामानहरू अर्डर गर्ने र क्यूआरबाट भुक्तानी गर्ने गर्नुभएको देखिन्छ ।

अहिलेसम्म खरिद गर्नुभएको सामानको भुक्तानी भइसकेको छ । बिलमा अलिकति छुट माग्नु स्वाभाविकै हो, अन्यथा पैसा नतिर्ने नियत देखिएको छैन ।’

तुलसा छोरीकी आमा हुन् । पतिसँग सम्बन्ध बिग्रिएपछि व्यवसायमा सक्रिय भएकी हुन् । त्यही क्रममा अटोमोबाइल व्यवसायी चिमोरियासँग उनको हिमचिम बढेको थियो । चिमोरिया र उनीबीच विवाहेत्तर सम्बन्ध देखिने अनुसन्धानरत प्रहरीले बताए ।

तुलसाले ललितपुरको भैँसेपाटीमा घर बनाएकी छन् । प्रहरीले ठगी मुद्दामा खोजी गर्न थालेपछि उनी छोरीसहित चीन गएको र छोरी अहिले पनि त्यहीँ अध्ययनरत छन् ।

के हुन्छ सजाय ?

तुलसाका विरुद्ध एकसाथ तीन फरक-फरक मुद्दा चलेका छन् । त्यसमध्ये सबैभन्दा कठोर मुद्दा मानिन्छ, सम्पत्ति शुद्धीकरण ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा १७ (४) बमोजिम प्रहरी हिरासतमा ३० देखि ९० दिनसम्म राखेर अनुसन्धान गर्ने व्यवस्था छ । ऐनको दोस्रो संशोधनको दफा ३० ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी गर्नेलाई सजायको व्यवस्था गरेको छ ।

यदि तुलसाको सम्पत्ति शुद्धीकरण मुद्दामा आतंकवादी क्रियाकलापको सूचना प्राप्त नभएमा ऐनले बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्यता हेरी दुई वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

तर, यदि उनको सम्पत्ति आर्जनसँग आतंकवादी गतिविधि जोडिए सोही दफाको उपदफा ३ बमोजिम विगोको पाँच गुणा र विगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसुरको गाम्भीर्यता हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ ।

आपराधिक लाभ र ठगी मुद्दामा के हुन्छ ?

तुलसाविरुद्ध सम्पत्ति शुद्धीकरणसँगै आपराधिक लाभ र ठगी मुद्दा पनि दायर भएको छ । प्रचलित मुलुकी अपराध (संहिता) ऐन २०७४ को भाग २ को परिच्छेद २१ मा ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको सजाय निर्धारित छ ।

त्यसअनुसार सामान्यतया ३ वर्षसम्म कैद तथा ३० हजार रूपैयाँ जरिवानाको व्यवस्था छ । तर, उल्लेखित कसुरभन्दा बढीको कसुर भएमा सोभन्दा बढी कैद र जरिवानाको व्यवस्था छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट