उजुरी परेपछि रास्वपाद्वारा अधिवेशन स्थगित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र मधेस प्रदेशका केही स्थानीय तह तथा वडामा सञ्चालन हुन लागेको आन्तरिक निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विभिन्न क्षेत्रबाट निर्वाचनसम्बन्धी विवाद र उजुरी प्राप्त भएपछि छानबिन पूरा नभएसम्म प्रक्रिया रोक्ने निर्णय गरेको हो।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका तथा जिल्लाका अन्य विवादित स्थानीय तह र वडामा निर्वाचन प्रक्रिया रोकिएको छ।
त्यसैगरी मधेस प्रदेशका सप्तरी, सिराहा, महोत्तरी, धनुषा र सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा पनि निर्वाचन स्थगित गरिएको छ। महोत्तरीमा जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मतिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका र पिपरा गाउँपालिका प्रभावित भएका छन् भने धनुषामा जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका र गणेशमान चारनाथ नगरपालिका लगायतका क्षेत्र समेटिएका छन्। सर्लाहीको हरिपूर्वा नगरपालिकामा समेत प्रक्रिया रोकिएको आयोगले जनाएको छ।
आयोगले विवाद समाधान र छानबिन सम्पन्न भएपछि मात्रै निर्वाचन प्रक्रिया पुनः अघि बढाइने स्पष्ट पारेको छ। साथै, स्थगन आदेशको अवज्ञा गर्दै गरिने कुनै पनि गतिविधिलाई आधिकारिक मान्यता नदिइने चेतावनी समेत दिइएको छ।
पार्टीभित्रको निर्वाचनलाई निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक बनाउन छानबिन नसकिएसम्मका लागि यो निर्णय गरिएको आयोग प्रमुख केसीले बताएका छन्। अन्य क्षेत्रमा भने निर्वाचन कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने जनाइएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया