‘एल–निनो’ को असर फरक–फरक हुने विश्व मौसम विज्ञान सङ्गठनको चेतावनी
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले ‘एल–निनो’ को असर फरक–फरक हुने चेतावनी दिएको छ ।
डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख विल्फ्रान मोउफोमा ओकियाले ‘एल–निनो’ बारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक–फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताएको समाचार संस्था एएफपीले जनाएको छ । उनले आउँदो अगस्टको अन्त्यअघि ‘एल–निनो’ विकास हुने सम्भावना रहेको सङ्केत गरे ।
‘एल निनो’ भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो । यसको असरले मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ ।
डब्ल्यूएमओकाअनुसार ‘एल–निनो’ उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिन्छ । ‘एल–निनो’ एकल घटनाका रूपमा मात्र नभई अन्य मौसमी प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुनसक्छ । यस पटक मध्यमदेखि बलियो स्तरको ‘एल–निनो’ देखिने प्रारम्भिक अनुमान छ ।
डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख ओकियाले आफूहरूले आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर त्यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताए ।
कहिलेकाहीँ ‘एल–निनो’ का असरहरू कुनै देशको प्रतिक्रिया क्षमताभन्दा धेरै पनि हुनसक्छन् । सन् २०२३–२०२४ को पछिल्लो ‘एल–निनो’ को उदाहरण दिँदै उनले पनामामा वर्षा कमी हुँदा नहर सञ्चालन प्रभावित भएको र त्यसले विश्वव्यापी व्यापारमा समेत असर पारेको उल्लेख गरे ।
डब्ल्यूएमओका अनुसार सन् १९९७ को तुलनामा सन् २०२३–२०२४ को ‘एल–निनो’ घटनामा मानवीय क्षति कम भएको देखिन्छ । यसले तयारी क्षमता बढ्दै गएको सङ्केत गर्दछ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया