Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’को नयाँ युगतर्फ लैजानुपर्नेमा रवि लामिछानेको जोड


काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने ले नेपाल–भारत सम्बन्धलाई विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ चरणमा प्रवेश गराउनुपर्ने बताएका छन्।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भएको भेटवार्तापछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै लामिछानेले करिब एक घण्टा लामो संवाद फलदायी र सार्थक रहेको उल्लेख गरेका हुन्।
उनले नेपाल र भारतले विगतका सीमितता र अवरोधहरूलाई पार गर्दै विकास कूटनीतिमा केन्द्रित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएको बताएका छन्। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा सहज र निर्बाध सम्पर्क विस्तारमार्फत दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन सकिने धारणा व्यक्त गरेका छन्।
लामिछानेले नेपाल–भारत साझेदारीलाई प्रगति र पारस्परिक विश्वासमा आधारित बनाउने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै रास्वपा ती सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको बताएका छन्।
भेटवार्तामा रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, भारतका विदेशमन्त्री एस। जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतको सहभागिता रहेको थियो।
रास्वपाका अनुसार भेटमा नेपाल–भारत सम्बन्धलाई परम्परागत सीमितताभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’को नयाँ युगतर्फ अघि बढाउने दूरदृष्टि तथा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट