Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रघाती’, संसद्को रोष्ट्रमबाट त्यस्ता कुरा बोल्नुहुँदैन : केपी शर्मा ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले प्रधानमन्त्री बालेन शाह ले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै कडा आलोचना गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई असत्य, भ्रामक र राष्ट्रिय हितविपरीत भएको टिप्पणी गरे।
प्रधानमन्त्रीले संसद्मा नेपालले भारतका विभिन्न स्थानमा भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै ओलीले त्यसलाई तथ्यहीन दाबीका रूपमा व्याख्या गरे। “नेपालले भारतको एक इन्च भूमि पनि मिचेको छैन,” उनले भने, “संसद्को रोष्ट्रमबाट यस्ता राष्ट्रघाती र असत्य कुरा बोलिनुहुँदैन।”
ओलीले प्रधानमन्त्रीको व्यवहारलाई ‘बचकना, लापरवाह र अहंकारी’ भन्दै राष्ट्रपति द्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनाप्रति पनि असन्तुष्टि जनाए। “त्यस्तो कुनै आपत्कालीन अवस्था थिएन, त्यो जिम्मेवार नेतृत्वले देखाउने व्यवहार होइन,” उनले बताए।
सीमा विवाद तथा द्विपक्षीय विषयमा तेस्रो पक्षको संलग्नताको चर्चा गर्दै ओलीले नेपालले आफ्ना छिमेकी मुलुकसँगका समस्या द्विपक्षीय संवादबाट समाधान गर्ने स्थापित परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गरे। “नेपाल कुनै व्यक्तिको निजी सम्पत्ति होइन। यस देशका आफ्नै स्थापित नीति, मूल्य र कूटनीतिक परम्परा छन्,” उनले भने।
प्रधानमन्त्रीले सीमा र परराष्ट्र नीतिजस्ता संवेदनशील विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओलीले राष्ट्रिय हितविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिए।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट