रास्वपाको सुदूरपश्चिम प्रथम प्रदेश अधिवेशन आज, नेतृत्व चयनमा चासो
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन सोमबार धनगढीमा सुरु हुँदैछ। धनगढीस्थित ऋद्धिसिद्धि पार्टी प्यालेसमा आयोजना हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ।
प्रदेश अध्यक्ष प्रकाश विष्टका अनुसार अधिवेशनका सबै तयारी पूरा भइसकेका छन्। पहिलो प्रदेश अधिवेशन भएकाले संगठन निर्माण, भावी रणनीति तथा नेतृत्व चयनलाई लिएर पार्टीभित्र र बाहिर व्यापक चासो देखिएको छ।
अधिवेशनअघि नै प्रदेश सभापति पदका आकांक्षीहरू सार्वजनिक भएपछि नेतृत्व चयनको विषय प्रमुख आकर्षण बनेको छ। वर्तमान प्रदेश सभापति प्रकाश विष्ट, कैलाली–२ का सांसद केपी खनाल, सञ्चार उद्यमी डा. जनकराज पन्त तथा कञ्चनपुरका नारायण वैद्यले नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन्।
पार्टीभित्र वर्तमान नेतृत्वलाई निरन्तरता दिने र नयाँ नेतृत्व चयन गर्ने दुई धारबीच आन्तरिक छलफल चलिरहेको बताइन्छ। राजनीतिक वृत्तमा सभापति रवि लामिछाने निकट समूहले प्रकाश विष्टलाई पुनः नेतृत्वमा ल्याउन चाहेको चर्चा छ भने सांसद केपी खनालले पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन्।
स्रोतहरूका अनुसार नेतृत्व चयनलाई सकेसम्म सहमतिका आधारमा टुंग्याउने प्रयास भइरहेको छ। केही नेताहरू केपी खनालको पक्षमा सक्रिय देखिए पनि अन्तिम निर्णय बन्दसत्रको प्रक्रियाबाट हुने बताइएको छ।
पार्टीभित्रको अर्को धारले वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने धारणा राख्दै आएको छ। यदि सहमति जुट्न नसकेर निर्वाचनको अवस्था सिर्जना भएमा वर्तमान सभापति प्रकाश विष्टको पक्ष तुलनात्मक रूपमा बलियो देखिने आकलन समेत गरिएको छ।
नेतृत्व चयनसँगै अधिवेशनले संगठन विस्तार, प्रदेशस्तरीय राजनीतिक कार्यदिशा, आगामी निर्वाचनको तयारी तथा सुदूरपश्चिममा पार्टीको संगठनात्मक संरचना थप मजबुत बनाउने विषयमा पनि छलफल गर्नेछ।
रास्वपाको पहिलो प्रदेश अधिवेशन भएकाले यसले सुदूरपश्चिममा पार्टीको भावी नेतृत्व र राजनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया