एमाले पुनर्गठनबारे योगेश भट्टराईको विश्वास: ‘पार्टी फुट्दैन, अझ एकताबद्ध हुन्छ’
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र चलिरहेको पुनर्गठनसम्बन्धी बहसलाई लिएर कार्यकर्ता र शुभेच्छुकहरूलाई आश्वस्त रहन आग्रह गरेका छन्। उनले एमाले पुनर्गठनको प्रक्रियाबाट अघि बढ्ने तर पार्टी विभाजन नहुने विश्वास व्यक्त गरेका छन्।
पार्टीभित्र पुनर्गठनको विषयलाई लिएर बहस तीव्र बन्दै गएको र विभिन्न धारबीच मतभेद देखिइरहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले छोटो कवितात्मक शैलीमा लेख्दै एमाले थप सुदृढ र एकताबद्ध हुने दाबी गरेका छन्।
“ढुक्क रहनुहोस्। लोभ छैन, पाप छैन। पुनर्गठन हुनेछ। फुट्ने छैन। टुट्ने छैन। सबै मिल्ने छन्। थप एकताबद्ध हुनेछन्। सबैको सम्मान हुनेछ। मति सुध्रने छ। गति बढ्ने छ,” भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
एमालेभित्र यतिबेला संगठनात्मक पुनर्गठनको विषय प्रमुख बहसको केन्द्रमा रहेको छ। पुनर्गठनसम्बन्धी छलफलका लागि कार्यदल गठन गरी पार्टीभित्र विभिन्न तहमा परामर्श र संवाद चलिरहेको छ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पुनर्गठनसम्बन्धी बहसको अग्रपंक्तिमा देखिएका छन्। यसबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न तहका नेता–कार्यकर्तासँग भेटघाट तथा छलफललाई तीव्रता दिएका छन्।
केन्द्रीय सदस्यदेखि तल्लो तहसम्मका नेता–कार्यकर्ताबीच पुनर्गठनको विषयमा व्यापक चासो देखिएको छ। पार्टी नेतृत्वले भने संगठनलाई थप प्रभावकारी, एकताबद्ध र गतिशील बनाउने उद्देश्यले छलफल अघि बढाइएको बताउँदै आएको छ।
भट्टराईको पछिल्लो अभिव्यक्तिलाई एमालेभित्र जारी पुनर्गठन बहसका बीच पार्टी एकता कायम रहने सन्देशका रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया