स्वास्थ्यका प्रमुख निकायमा नेतृत्व चयन प्रक्रिया सुरु, मन्त्रालयद्वारा दरखास्त आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न नियामक परिषद् तथा संस्थाहरूमा रिक्त रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न परिषद्, बोर्ड तथा प्रतिष्ठानका नेतृत्वदायी पदहरूका लागि योग्य व्यक्तिबाट आवेदन माग गरेको हो।
सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारलगायत पदहरूमा नियुक्तिका लागि आवेदन खुला गरिएको छ।
त्यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव पदका लागि पनि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य क्षेत्रका महत्वपूर्ण संस्थाका रूपमा रहेका शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदसमेत रिक्त रहेकाले पदपूर्ति प्रक्रिया अघि बढाइएको हो।
मन्त्रालयका अनुसार सम्बन्धित ऐन, नियमावली तथा मापदण्डअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।
आवेदन सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा बुझाउन सकिनेछ भने मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध गराइएको छ।
आवेदनका लागि आवश्यक शैक्षिक योग्यता, अनुभव, आवश्यक कागजात तथा छनोट प्रक्रियासम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको छ।
स्वास्थ्य क्षेत्रका नीतिगत तथा सेवा प्रवाहसँग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरूमा नेतृत्व चयन प्रक्रिया सुरु भएसँगै योग्य र सक्षम नेतृत्व छनोट हुने अपेक्षा गरिएको छ। स्वास्थ्य प्रशासन तथा नियामक निकायहरूको प्रभावकारी सञ्चालनका लागि यो प्रक्रिया महत्त्वपूर्ण मानिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया