कागेश्वरी मनोहराबाट सुरु भयो स्थानीय तहमै नापी–मालपोत सेवा
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालनमा ल्याएको छ। सेवाको औपचारिक शुभारम्भसँगै नगरपालिकाले लाभग्राहीलाई लालपुर्जा वितरण गर्दै सेवा हस्तान्तरण प्रक्रिया सुरु गरेको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा स्थानीय सरकारमार्फत जग्गा प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने अभियानअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका पहिलो चरणमा समावेश भएको मन्त्रालयले जनाएको छ।यस योजनाअन्तर्गत नागरिकले अब जग्गा प्रशासनसम्बन्धी सेवा आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्नेछन्। यसले नापी तथा मालपोत कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम गर्नुका साथै समय, श्रम र खर्च बचत हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार देशभरका २०७ स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालनमा रुचि देखाएका छन्। आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति तथा व्यवस्थापन तयारी पूरा भएका स्थानीय तहमा चरणबद्ध रूपमा सेवा विस्तार गरिनेछ।स्थानीय तहबाट सेवा सञ्चालन भएपछि नागरिकमैत्री सेवा प्रवाह, प्रशासनिक पहुँच विस्तार तथा भूमि व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अन्य स्थानीय तहमा पनि आवश्यक प्राविधिक संरचना, जनशक्ति व्यवस्थापन र तालिम कार्यक्रमलाई तीव्रता दिइरहेको बताएको छ। सेवा विस्तारसँगै जग्गा प्रशासनसम्बन्धी कामकारबाहीमा सहजता आउने र सेवाग्राहीको सन्तुष्टि बढ्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया