Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

सुकुमवासी समस्या समाधान गर्न सांसद हर्कराज राईको माग


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले देशभर देखिएको सुकुमवासी तथा भूमिहीन समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोबास गर्दै आएका नागरिकहरू लालपुर्जा माग गर्दै एक महिनादेखि आन्दोलनरत रहेको जानकारी दिए।

करिब ७० बिघा क्षेत्रफलमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई नियमित कर तिर्दै आएको भए पनि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नपाउनु अन्यायपूर्ण भएको उनको भनाइ थियो।त्यस्तै, उनले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गत रामधुनी–७ स्थित ६४ बिघा जग्गामा ६६ वर्षदेखि बसोबास गर्दै आएका स्थानीयले अझै लालपुर्जा नपाएको विषय पनि संसदमा उठाए। उक्त क्षेत्रमा नक्कली जग्गाधनी खडा गरी स्थानीयलाई दुःख दिने काम भइरहेको भन्दै उनले आपत्ति जनाए।

सांसद राईले सीमा क्षेत्रमा देखिएको डुबान समस्या र असमान सम्झौताका कारण नेपाली भूभाग प्रभावित हुने गरेको भन्दै सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताए।उनले रौतहटको गौर आसपास भारतले लाल बकैया र बागमती नदीमा निर्माण गरेका संरचनाका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको रिपोर्टबारे पनि सदनको ध्यानाकर्षण गराए।

त्यस्तै, माइतीघर मण्डलामा विभिन्न माग राखेर लामो समयदेखि आन्दोलनरत नागरिकहरूको समस्या सम्बोधन गर्न गृहमन्त्रीलाई आग्रह गरे।बैठकमा उनले सुकुमवासी, सीमा समस्या र डुबान जस्ता विषयलाई प्राथमिकतामा राखेर समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट