Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने क्रममा प्रतिनिधिसभाका तीन सांसद प्रदेश सभापतिको प्रतिस्पर्धामा पराजित भएका छन्।

नुवाकोट–२ का सांसद डा. अच्युत्तम लामिछाने, नवलपुर–१ का सांसद राजन गौतम तथा कञ्चनपुर–१ का सांसद जनकसिंह धामी प्रदेश सभापति बन्ने दौडमा असफल भएका हुन्। लामिछाने बागमती, गौतम गण्डकी र धामी सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि प्रतिस्पर्धामा थिए।

बागमती प्रदेशमा निवर्तमान तथा संस्थापक सभापति समेत रहेका लामिछानेलाई पूर्व प्रदेश प्रवक्ता उत्सव अर्यालले अत्यन्तै झिनो मतान्तरले पराजित गरे। अर्यालले ४१६ मत प्राप्त गर्दा लामिछानेले ४१४ मत पाए।

त्यस्तै, गण्डकी प्रदेशमा निवर्तमान सभापति राजन गौतमलाई प्रदेश महामन्त्री नविन त्रिपाठीले फराकिलो मतान्तरले हराए। सभापतिको प्रतिस्पर्धामा चार उम्मेदवार रहेकामा त्रिपाठीले २३४ मतसहित विजय हासिल गरे भने गौतमले १८२ मत प्राप्त गरे। अन्य उम्मेदवार माधव कँडेलले ११ र हरिबहादुर कार्कीले २ मत मात्र पाए।

रास्वपाको विधानअनुसार सभापति निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। पहिलो चरणमा कसैले आवश्यक मत नकटाए दोस्रो चरणमा मतदान हुने व्यवस्था छ। गण्डकीमा भने गौतम पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

सुदूरपश्चिम प्रदेशमा सांसद जनकसिंह धामीलाई प्रकाश विष्टले पराजित गरे। विष्टले ३५८ मत प्राप्त गर्दा धामी १५४ मतमै सीमित भए। विष्ट यसअघि कैलाली–१ बाट उम्मेदवार बन्ने आकांक्षी रहे पनि पार्टीले उनलाई टिकट दिएको थिएन।

बागमती र गण्डकीमा संस्थापक सभापतिहरू नेतृत्वबाट बाहिरिँदा सुदूरपश्चिममा भने संस्थापक सभापति समूहकै नेतृत्व कायम रह्यो।

रास्वपाले प्रदेशअनुसार फरक आकारका समिति गठन गर्ने व्यवस्था गरेको छ। पार्टी विधानअनुसार कोशीमा ६१, मधेसमा ५९, बागमतीमा ६५, गण्डकीमा ४७, लुम्बिनीमा ५७, कर्णालीमा ४१ र सुदूरपश्चिममा ४३ सदस्यीय प्रदेश समिति रहनेछ। प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहने प्रावधान छ।

हालसम्म मधेसबाहेक अन्य प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ। कर्णाली प्रदेशको मतगणना जारी रहेको छ भने बाँकी पाँच प्रदेशले नयाँ नेतृत्व चयन गरिसकेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट