नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दा ‘हेर्दाहेर्दै’ मा, भोलि फेरि बहस हुने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी जिल्ला अदालत काठमाडौंमा जारी सुनुवाइ पाँच दिनपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ। अदालतले मुद्दाको थप सुनुवाइका लागि बुधबार पेसी तोकेको छ।
गत जेठ २७ गतेदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा निरन्तर सुनुवाइ भइरहेको यो मुद्दामा फाइल अध्ययनका लागि थप समय आवश्यक परेपछि मंगलबार अपराह्नदेखि बहस स्थगित गरिएको हो। अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राख्दै भोलिका लागि सुनुवाइको मिति तय गरेको छ।
यस मुद्दामा बहस गर्न सयौँ कानुन व्यवसायीले नाम दर्ता गराएका छन्। बहस लम्बिँदै गएपछि न्यायाधीश खड्काले समय व्यवस्थापन र बहसको अवधि छोट्याउन कानुन व्यवसायीहरूलाई आग्रह गर्दै आएका छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देश पठाइदिने प्रलोभन देखाई ठूलो रकम असुलिएको आरोपमा यो प्रकरण चर्चामा आएको हो। लामो समयसम्म सुनुवाइ अघि नबढे पनि जेठ २७ देखि अदालतले निरन्तर सुनुवाइ थालेको छ।
यस प्रकरणमा २०८० जेठ १० गते पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो।
अभियोगपत्रअनुसार सङ्गठित गिरोहले नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा प्रस्तुत गर्ने योजना बनाएको थियो। मुख्य बिचौलियादेखि गिरोहसँग आबद्ध विभिन्न व्यक्तिविरुद्ध पनि सोही आरोपमा मुद्दा चलाइएको छ।
मुद्दा दायर हुँदा पक्राउ परेका १८ जनामध्ये दुई जना धरौटीमा र १६ जना थुनामा पठाइएका थिए। त्यसबेला १२ जना फरार रहेकोमा केही पक्राउ परिसकेका छन् भने केही अझै फरार छन्।
पछिल्ला चरणमा थप अनुसन्धानपछि केशव दुलालसहित पाँच जना र बेचन झाविरुद्ध पूरक अभियोगपत्रसमेत दायर गरिएको थियो। थुनछेक आदेशबाहेक सबै मुद्दालाई लगाउमा राखेर संयुक्त रूपमा सुनुवाइ भइरहेको छ।
यसअघि जिल्ला अदालतले प्रारम्भिक प्रमाणका आधारमा अधिकांश अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी वा तारेखमा छुटे भने केही अझै थुनामै छन्। दुई वर्षसम्म प्राथमिकतामा नपरेको यो बहुचर्चित मुद्दा अहिले पुनः अदालतको केन्द्रमा रहेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया