एमडी फार्मास्युटिकल्सलाई अन्तर्राष्ट्रिय ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
काठमाडौं । नेपाली औषधि उद्योगका लागि गौरवको विषय बनेको छ। स्वदेशी औषधि उत्पादक कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ।
बेल्जियमको ब्रसेल्समा आयोजित विशेष समारोहमा युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च (ESQR) ले कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई उक्त सम्मान प्रदान गरेको हो। दाहाल नेपाल औषधि उत्पादक सङ्घका पूर्वअध्यक्षसमेत हुन्।
कम्पनीले गुणस्तरीय उत्पादन, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ। एमडी फार्मास्युटिकल्स नेपालमै पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्ने कम्पनीका रूपमा परिचित छ। यो प्रविधि दम, निमोनिया तथा विभिन्न फोक्सोसम्बन्धी रोगहरूको उपचारमा प्रयोग हुने औषधि उत्पादनमा उपयोग गरिन्छ।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत दाहालले नेपाली औषधि उद्योगले अन्तर्राष्ट्रिय स्तरमा पहिचान पाउनु सम्पूर्ण देशकै उपलब्धि भएको बताए। उनले यस सम्मानले स्वदेशी उत्पादनलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
मानव तथा पशु स्वास्थ्यका लागि आवश्यक विभिन्न औषधि उत्पादन गर्दै आएको एमडी फार्मास्युटिकल्सले औषधि अनुसन्धान, विकास र आधुनिक उत्पादन प्रविधिको विस्तारमा समेत सक्रिय भूमिका खेल्दै आएको छ।
कम्पनीले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली औषधि उद्योगको क्षमता र विश्वसनीयतालाई विश्वमाझ थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया