Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक


काठमाडौँ । नेपाली फिल्म उद्योगका लागि जेठ महिना अपेक्षाकृत कमजोर देखिएको छ। यस महिनामा प्रदर्शनमा आएका ६ वटा फिल्महरूको कुल ग्रस बक्स अफिस कलेक्सन ३ करोड ५५ लाख ९६ हजार ५२० रुपैयाँ मात्र रहेको छ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठ महिनामा प्रदर्शनमा आएका फिल्महरू ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’, ‘काजी’, ‘मितज्यु’, ‘रोल नं १’ र ‘कुम्भ’ हुन्। यी फिल्महरू हेर्न जम्मा १ लाख २२ हजार ३८० दर्शक हलसम्म पुगेका छन्।

व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्म ‘रोल नं १’ बनेको छ। विनोद पौडेलको निर्माण तथा जोन योञ्जनको निर्देशनमा बनेको उक्त फिल्मले हालसम्म १ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्म हेर्न ४७ हजार १५१ दर्शक हल पुगेका छन्। फिल्मले शिक्षा, पारिवारिक सम्बन्ध र विद्यार्थी जीवनका चुनौतीलाई समेटेको छ।

दोस्रो स्थानमा ‘मितज्यु’ रहेको छ। जनक घर्ती मगरको निर्माण र अनिल बुढामगरको निर्देशनमा बनेको फिल्मले १ करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ आम्दानी गरेको छ भने ४६ हजार १५४ दर्शकले हेरेका छन्। ग्रामीण परिवेश र भावनात्मक कथामा आधारित यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौज मगर मुख्य भूमिकामा छन्। यी दुई फिल्म अझै प्रदर्शनरत रहेकाले कलेक्सन बढ्ने सम्भावना रहेको छ।

त्यसैगरी, ‘काजी’ले ४४ लाख ४८ हजार ६० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। विपिन कार्की र केकी अधिकारी अभिनीत यो फिल्म प्रेमकथामा आधारित छ र १४ हजार ३२४ दर्शकले हेरेका छन्।

‘लाइफ ड्यामेज’ले ३४ लाख ६६ हजार २९० रुपैयाँ आम्दानी गरेको छ। सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहेको यस फिल्मलाई ११ हजार ३७१ दर्शकले हेरेका छन्।

सबैभन्दा कमजोर प्रदर्शन गर्ने फिल्महरूमा ‘एक मुठ्ठी बादल’ र ‘कुम्भ’ रहेका छन्। ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार ८२५ रुपैयाँ मात्र आम्दानी गरेको छ भने ‘कुम्भ’ले ३ लाख ९१ हजार १० रुपैयाँ संकलन गरेको छ।

समग्रमा जेठ महिनाको बक्स अफिस प्रदर्शनले नेपाली फिल्म उद्योगमा अपेक्षित उत्साह ल्याउन नसकेको देखिएको छ। दर्शक संख्या र आम्दानी दुवै अपेक्षाभन्दा कम रहेको विश्लेषण गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट