Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

विदेशी विनिमय सञ्चितिमा ३५ खर्ब नजिक


काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति करिब ३५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तको तथ्यांक अनुसार नेपालको कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत मसान्तमा आउँदा ३०.५ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विदेशी विदेशी विनिमय सञ्चितिमा २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेकोमा चैत मसान्तमा २०.८ प्रतिशतले बढेर २३ अर्ब ५५ करोड डलर पुगेको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको हिस्सा २७.७ प्रतिशतले बढेर ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंक बाहेक) सँग रहेको सञ्चितिमा ५६.८ प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको यो सञ्चितिले २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन सँगको अनुपात ५७.२ प्रतिशत, कुल आयातसँग १५३.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४१.२ प्रतिशत रहेको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट