नेप्सेमा डेढ खर्बको शेयर सूचीकृत, बोनस मात्रै ३९.८९ अर्ब रुपैयाँ
काठमाडौं । चालु आवको ९ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डेढ खर्ब रुपैयाँ बराबरको सेयर सूचीकरण भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा नेप्सेमा १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा ४५ अर्ब ५४ करोड रुपैयाँको साधारण सेयर (आईपीओ), ३९ अर्ब ८९ करोड रुपैयाँको बोनस सेयर, ९ अर्ब ६४ करोड रुपैयाँको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँको डिबेन्चर, ९७ करोड १७ लाख रुपैयाँको एफपीओ र २ करोड २९ लाख रुपैयाँको अन्य गरी कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप सेयर सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २७ अर्ब २३ करोड रुपैयाँको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
नेप्सेमा चैत मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ३३ अर्ब ८९ करोड रहेको छ । चैतसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५०.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १७.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.५ प्रतिशत रहेको छ ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया