लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ९ करोड
काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १७.०१ अंक घटेर २७८७.१५ विन्दुमा झरेको छ। नेप्से परिसूचक १० कारोबार दिनपछि २८०० विन्दुभन्दा तल बन्द भएको हो। यस अघि गत चैत २४ गते, नेप्से परिसूचक २८०० विन्दु तल बन्द भएको थियो।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ८१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ९३ हजार ९०७ पटकको कारोबारमा ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसुचक यस दिन सर्वाधिक १.४२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ४२ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने होटल फरेष्ट इनको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया