Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा


काठमाडौं । चीनले १० अमेरिकी कम्पनीमाथि कडा प्रतिबन्ध लगाउने सोमबार घोषणा गरेको छ । ती कम्पनी अमेरिकी सेनासँग सम्बन्धित रहेको चीनको जिकिर छ । प्रतिष्ठित चिनियाँ प्रविधि कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्धको जवाफस्वरूप बेइजिङले यस्तो निर्णय गरेको हो ।

यही जुनको सुरुमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले अलिबाबा र बाइडुसहित विभिन्न प्रविधि कम्पनीलाई चिनियाँ सेनासँग आबद्धको सूचीमा समावेश गरेको थियो । बाइडुले आफूलाई सैन्य कम्पनीका रूपमा चित्रण गर्नु पूर्ण रूपमा निराधार रहेको प्रतिक्रिया दिएको छ ।

उक्त सूचीमा परेपछि अब यी चिनियाँ कम्पनीले अमेरिकी सेनाबाट कुनै ठेक्का प्राप्त गर्न पाउने छैनन् ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार, अब चिनियाँ ड्रोन निर्माता तथा दुर्लभ खनिजसम्बन्धी उद्योगले ती अमेरिकी कम्पनीलाई द्वैध उपयोगका सामग्री निर्यात गर्न पाउने छैनन् । द्वैध उपयोग भन्नाले सर्वसाधारण र सैन्य दुवै प्रयोजनमा प्रयोग गर्न सकिने वस्तु बुझिन्छ ।

मन्त्रालयले अरू देशका कम्पनी वा व्यक्तिहरूलाई पनि चेतावनी दिँदै चीनबाट खरिद गरिएका द्वैध उपयोग सामग्री ती प्रतिबन्धित अमेरिकी निकायलाई पुनः निर्यात (रि–एक्सपोर्ट) गर्न नपाइने स्पष्ट पारेको छ ।

चीनद्वारा प्रतिबन्धित १० अमेरिकी कम्पनीमा एभीएओएक्स, रेड क्याट होल्डिङ्स, टिल ड्रोन, इमसार, जाया रोबोटिक्स, बल एरोस्पेस, ओशकोश डिफेन्स, एल–थ्री ह्यारिस म्यारिटाइम सर्भिसेज, एमपी मटेरियल्स र यूएसए रेयर अर्थ छन् ।


क्याटेगोरी : अन्तराष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट