रास्वपाको महाधिवेशनअघि रवि लामिछाने भावुक: ‘आन्तरिक लोकतन्त्रमा कहिल्यै सम्झौता गर्दिनँ’
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सभापति रवि लामिछाने ले पार्टीको आन्तरिक लोकतन्त्र र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा शनिबार बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र निष्ठा, पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई कुनै पनि हालतमा सम्झौता नगर्ने विषय भएको बताएका हुन्।
बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै उनले देशप्रेम, परिवर्तनको चाहना र सुन्दर आकांक्षा बोकेका अनुहारहरू आफ्नो अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यही ऊर्जा र सहकार्य कायम रहने विश्वास व्यक्त गरे।
लामिछानेले संस्थापक सभापतिका रूपमा पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन आफूले सकेको भूमिका निर्वाह गरेको दाबी गर्दै त्यसको मूल्याङ्कन सदस्यहरूले गर्ने बताए। उनले आफ्नो राजनीतिक यात्राभर लोकतन्त्र र निष्ठाका मूल्यबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरे।
सम्बोधनका क्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान तथा राजनीतिक परिवर्तनका लागि भएका त्याग, बलिदान र संघर्षहरूको सम्मान गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान उपलब्धिहरू विगतका संघर्षकै परिणाम भएको उल्लेख गर्दै परिवर्तनप्रति गर्व गर्नुपर्ने धारणा राखे।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट तीन हजारभन्दा बढी प्रतिनिधि, नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया