रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनको तयारी लगभग पूरा भइसकेको र देशभर तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत आवश्यक सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ।
रास्वपाले महाधिवेशनलाई व्यवस्थित बनाउन १८ वटा उपसमिति गठन गरेको थियो। राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधानसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेका छन् भने शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिएको छ।
महाधिवेशनअघि बसेको केन्द्रीय समिति बैठकले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव पारित गरिएको छ। संशोधित विधानअनुसार वरिष्ठ नेतासहित पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरिनेछ।
विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार प्रदेश सभापतिहरूलाई पदेन सदस्य बनाइने व्यवस्था गरिएको छ। नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन्। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक महिला अनिवार्य रहने व्यवस्था गरिएको छ।
संशोधित विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने ५१ जना सदस्य पार्टी सभापतिले समावेशिताको आधारमा मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव, समसामयिक राजनीतिक विषय तथा पार्टीको भावी कार्यदिशाबारे व्यापक छलफल हुने जनाइएको छ। संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी राजनीतिक रणनीति तय गर्नु महाधिवेशनका मुख्य एजेन्डा रहनेछन्।
रास्वपाका अनुसार महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। पार्टीले हालसम्म करिब पाँच लाख सदस्य संख्या पुगेको जनाएको छ। ६१० पालिका, चार हजार ६३ वडा तथा सातै प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न भई प्रतिनिधि छनोट भइसकेको पार्टीको दाबी छ।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनलाई संगठनात्मक पुनर्संरचना, नेतृत्व चयन र आगामी राजनीतिक यात्राको मार्गनिर्देशन गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया