Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्यहरू स्वतः केन्द्रीय समिति सदस्य बन्ने भएका छन्। भरतपुरमा शनिबार बसेको केन्द्रीय समिति बैठकले संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा समावेश गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको हो।

पार्टीका एक संस्थापक सदस्यका अनुसार संशोधित विधानअनुसार संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा मनोनयन गर्न सकिने व्यवस्था गरिएको छ। रास्वपा स्थापना हुँदा २१ सदस्यीय केन्द्रीय समिति रहेको थियो। तीमध्ये डा. मुकुल ढकाल हाल पार्टीमा छैनन् भने डीपी अर्याल संवैधानिक जिम्मेवारीमा रहेकाले सक्रिय पार्टी संरचनामा छैनन्।

महाधिवेशनअघि पारित गरिएको संशोधित विधानले पार्टीको संगठनात्मक संरचनामा व्यापक परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार रास्वपामा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ। साथै सातै प्रदेशका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।

रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनमार्फत संगठन विस्तार, नेतृत्व चयन तथा पार्टीको भावी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरिरहेको छ। संशोधित विधानले संस्थापक सदस्यहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको अनुभवलाई पार्टी नेतृत्वमा निरन्तर उपयोग गर्ने उद्देश्य राखेको बताइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट