रास्वपा महामन्त्रीमा मनीष र विपिनको दाबी
चितवन, असार ८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन जारी रहँदा महामन्त्री पदका लागि प्रतिस्पर्धा रोचक बन्दै गएको छ। पार्टीका प्रवक्ता मनीष झा र सहमहामन्त्री विपिन आचार्यले महामन्त्री पदमा दाबी प्रस्तुत गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न थालेका छन्।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा दुवै नेताले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। रास्वपाको विधानअनुसार पदाधिकारी बन्नुअघि केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था रहेकाले उनीहरू अहिले केन्द्रीय सदस्यका लागि समर्थन जुटाउन व्यस्त छन्।
हाल पार्टीका प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका मनीष झाले आफू महामन्त्री पदको स्वाभाविक दाबेदार रहेको बताएका छन्। उनले पार्टी कार्यकर्ताहरूले लामो समयदेखि आफूलाई नेतृत्व तहमा देख्न चाहेको भन्दै महामन्त्री पदका लागि आफ्नो तयारी रहेको उल्लेख गरेका छन्।
त्यसैगरी सहमहामन्त्री विपिन आचार्यले पनि आफू महामन्त्री पदका लागि स्वाभाविक उम्मेदवार भएको दाबी गरेका छन्। प्रतिनिधिहरूसँगको भेटघाटमा उनले आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराएपछि महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका छन्।
रास्वपाको महाधिवेशनमा पहिले केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिने व्यवस्था रहेको छ। यही कारण पदाधिकारीका आकांक्षी नेताहरू अहिले केन्द्रीय सदस्यका रूपमा जित सुनिश्चित गर्न प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।
महाधिवेशनको दोस्रो दिन सोमबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहे पनि प्रतिनिधि व्यवस्थापन, परिचयपत्र वितरण तथा प्रतिनिधिको अन्तिम सूची टुंग्याउने काम जारी रहेकाले कार्यक्रम प्रभावित भएको छ।
महाधिवेशनस्थलमा अहिले पनि प्रतिनिधिहरूको परिचयपत्र वितरण र अन्तिम नामावली व्यवस्थापनको काम भइरहेको छ। यसैबीच विभिन्न पदका आकांक्षी नेताहरूले प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्।
रास्वपाले यस महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै आगामी राजनीतिक दिशा तय गर्ने तयारी गरेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया