नेकपा संयोजन समितिको बैठक आज बस्दै, के-के छन् एजेन्डा ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय संयोजन समितिको बैठक आज सोमबार बस्दै छ । बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ ।
निर्वाचनको समिक्षा गर्न गत चैत्र २३ गते सुरु भएको बैठक फेरी बस्न लागेको हो । २२ दल मिलेर बनेको नेकपालाई निर्वाचनमा धक्का मात्रै लागेको छैन्, लज्जास्पद हारको पनि सामाना गर्नुपरेको छ । आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ ।
बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायतका प्रस्ताव आउन सक्ने सम्भावना छ । यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै संयोजक र सह–संयोजकले निर्णय प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएका थिए, जसलाई आजको बैठकले अनुमोदन गर्ने बताइएको छ ।
सांगठनिक संरचनाका सन्दर्भमा प्रदेश इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी गरिएको छ । जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादी बिच सन्तुलन कायम गर्ने मापदण्ड बनाइएको छ । जसअनुसार कुनै प्रदेशमा माओवादी केन्द्रले इन्चार्ज पाएमा एकीकृत समाजवादीले सह-इन्चार्ज पाउनेछ भने एकीकृत समाजवादीले इन्चार्ज पाएको प्रदेशमा माओवादी केन्द्रले सह-इन्चार्जको जिम्मेवारी पाउनेछ । यसैगरी, भूगोलमा जस्तै ३२ वटा विभागहरूमा पनि प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँट गरिनेछ ।
बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ । तल्लो तहका पालिका र जिल्लाको एकता एवं समायोजनको जिम्मा सम्बन्धित प्रदेशलाई नै दिने तयारी छ । यसका साथै, जनवर्गीय संगठन र मोर्चाको एकता, सदस्यता नवीकरण र एकताको मापदण्डका विषयमा समेत आजै निर्णय हुन सक्ने बताइएको छ ।
त्यसैगरी, पार्टीको आगामी कार्यदिशा तय गर्दै ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार मिति घोषणा गर्न सक्ने सम्भावना छ। एमालेसँग सम्भावित एकताबारे पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया