बालेनलाई पुराना दलको ढाँचामा ढाल्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन साहलाई अहिले पुराना दलहरूले आफूहरूकै शैलीमा चलाउन खोजिरहेका छन् भन्ने बहस भइरहेको छ । तर बालेन परम्परागत दलहरूको बाटो हुँदै प्रधानमन्त्री बनेका नेता होइनन् । नियमित राजनीतिक प्रक्रियाअनुसार चुनाव २०८४ सालमा हुनुपर्ने थियो तर असाधारण राजनीतिक परिस्थितिका कारण २०८२ मै चुनाव भयो ।
२०७२ सालको संविधानको संरचनालाई फेरबदल गर्दै नयाँ जनादेशमार्फत उनी दुई तिहाइ समर्थनसहित प्रधानमन्त्री बनेका हुन् । त्यसैले पुराना दलहरूले भने झैं सजिलै चल्ने वा उनीहरूको ढाँचामा फिट हुने सम्भावना कम देखिन्छ ।
नेपालको इतिहास हेर्दा पनि परिवर्तनकारी आन्दोलन र सत्ता सञ्चालनबीच सधैं द्वन्द्व देखिन्छ । २००७ सालको आन्दोलनको नेतृत्व नेपाली काँग्रेसले गरे पनि प्रधानमन्त्री भने राणाकै पक्षका माेहन शमशेर जबरा बने । पछि जनदबाब बढेपछि मात्रै मात्रिका प्रसाद काेइराला प्रधानमन्त्री भए, त्यो पनि राणा र दिल्लीसँग सन्तुलन मिलाउने शर्तमा। त्यसबेला भारतका प्रधानमन्त्री जहारलाल नेहरूसँग उनको अत्याधिक निकटता रहेको टिप्पणीसमेत गरिन्थ्यो ।
२०१५ सालमा विशेश्वरप्रसाद काेइराला नेतृत्वको काँग्रेसले दुई तिहाइ बहुमत ल्यायो । उनले भूमिसुधारजस्ता परिवर्तनकारी कार्यक्रम अघि सारे । तर त्यो तत्कालीन राजतन्त्र र भारतीय शक्तिकेन्द्रलाई स्वीकार्य भएन । अन्ततः उनको सरकार अपदस्थ गरियो, उनी लामो समय जेल र निर्वासनमा बस्न बाध्य भए । तर उनले आफ्नो राजनीतिक मुद्दामा सम्झौता गरेनन् भन्ने धारणा अझै बलियो छ ।
२०४६ सालको जनआन्दोलनपछि पनि तुरुन्त जनआन्दोलनकारी शक्तिलाई सत्ता दिइएन। सुरुमा लाेकेन्द्रबहादुर चन्द नै प्रधानमन्त्री कायम भए । पछि मात्रै राजासँग सहमति गरेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाइयो ।
त्यस्तै, २०६४ सालको चुनावमा माओवादी ठूलो शक्तिका रूपमा उदाए पनि पुस्पकमल दाहाललाई तुरुन्त प्रधानमन्त्री बन्न सहज वातावरण बनाइएन । लामो राजनीतिक खिचातानीपछि मात्रै उनी प्रधानमन्त्री बने । त्यसक्रममा जनयुद्धका क्रममा उठाइएका भूमिसुधारजस्ता धेरै मुद्दा क्रमशः कमजोर बन्दै गए । त्यसपछि माेहन वैद्य, सीपी गजुरेल लगायतका नेताहरू अलग्गिन पुगे ।
अहिले पनि पुराना दलहरूले बालेनलाई आफ्नै राजनीतिक ढाँचामा ल्याउने प्रयास गरिरहेका छन् भन्ने विश्लेषण भइरहेको छ । तर अहिलेसम्मका संकेत हेर्दा बालेनले पुराना दलका नेताहरूलाई खासै महत्व दिएका छैनन् । उनी आफ्नै शैली र राजनीतिक मार्गमा अघि बढ्ने प्रयासमा देखिन्छन् ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया