विश्वकप फुटबल नेपाल टेलिभिजनबाट नि:शुल्क प्रसारण गर्न सांसद हमालको माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रमेश हमालले फिफा विश्वकप फुटबल नेपाल टेलिभिजनमार्फत् नि:शुल्क प्रसारण गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप फुटबलप्रति आमनागरिक, विशेषगरी युवापुस्ताको उच्च चासो रहे पनि प्रसारणमा एकाधिकार (मोनोपोली) देखिएको टिप्पणी गरे।
उनले विश्वकप हेर्न दर्शकले अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्थाले धेरै नागरिक खेल हेर्नबाट वञ्चित भएको उल्लेख गरे।
“विश्वकप सबैको चासोको विषय हो। युवाहरूमा यसको आकर्षण झन् बढी छ। तर खेल हेर्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था छ,” उनले भने, “धेरै दर्शकको इच्छा हुँदाहुँदै पनि पहुँचको अभाव देखिएको छ।”
सांसद हमालले हाल प्रसारण अधिकार प्राप्त निजी सेवा प्रदायकहरूले पर्याप्त आम्दानी गरिसकेको हुनसक्ने भन्दै अब बाँकी खेलहरू नि:शुल्क रूपमा उपलब्ध गराउन पहल गर्न सरकारसँग आग्रह गरे।
उनले सभामुखमार्फत नेपाल सरकार, नेपाल टेलिभिजन तथा सम्बन्धित सेवा प्रदायकहरूको ध्यानाकर्षण गराउँदै विश्वकप खेलहरू निःशुल्क प्रसारणको व्यवस्था मिलाउन अनुरोध गरे।
हाल नेपालमा फिफा विश्वकप फुटबल हिमालय स्पोर्ट्स एचडी च्यानलमार्फत प्रसारण भइरहेको छ। प्रतियोगिताको नेपाल प्रसारण अधिकार एसप्रो मिडियाले खरिद गरेको हो।
दर्शकहरूले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत सशुल्क रूपमा विश्वकप हेर्न सक्ने व्यवस्था गरिएको छ। मोबाइल प्रयोगकर्ताका लागि डिएसहोम गो एपमार्फत छुट्टै प्याकेज उपलब्ध रहेको छ।
यसपटक विश्वकप प्रसारण शुल्क अघिल्लो संस्करणको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सन् २०२२ को विश्वकप करसहित करिब ५६५ रुपैयाँमा उपलब्ध भएकोमा यस संस्करणमा शुल्क बढेको देखिन्छ।
प्रसारण अधिकार खरिदकर्ता कम्पनीले भने फिफासँग प्रत्यक्ष सम्झौता, अन्तर्राष्ट्रिय प्रसारण अधिकार शुल्क तथा अमेरिकी डलरको विनिमय दर वृद्धिका कारण लागत बढेको बताउँदै आएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया