Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

हिमाल आरोहणबाट १ अर्ब २५ करोडभन्दा बढी रोयल्टी संकलन


काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणबाट सरकारले १ अर्ब २५ करोडभन्दा बढी रोयल्टी संकलन गरेको छ ।

पर्यटन विभागले सार्वजनिक गरेको सन् २०२६ को वसन्त ऋतुको अद्यावधिक तथ्याङ्कअनुसार १ मार्चदेखि १५ मेसम्म ३० वटा हिमाल आरोहणका लागि अनुमति जारी गर्दा कुल १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५ सय ५४ रुपैयाँ रोयल्टी उठेको हो ।

यस अवधिमा १४२ वटा आरोहण दलका १ हजार १८१ जना आरोहीले नेपालका हिमाल चढ्न अनुमति लिएका छन् । तीमध्ये ८९८ पुरुष र २८३ महिला रहेका छन् ।

यस वर्ष पनि सगरमाथा आरोहणमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सगरमाथा आरोहणका लागि मात्रै ५१ वटा टोलीका ४९४ जना आरोहीले अनुमति लिएका छन् । जसमा ३८९ पुरुष र १०५ महिला सहभागी छन् ।

विभागका अनुसार सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४ सय ७५ रुपैयाँ रोयल्टी संकलन भएको छ । यस्तै लोत्से हिमाल बाट ६ करोड ३६ लाख, मकालु बाट ३ करोड १७ लाख, आमादब्लम बाट १ करोड ६६ लाख र कञ्चनजङ्घा बाट १ करोड ६० लाख रुपैयाँभन्दा बढी रोयल्टी उठेको छ ।

विभागको तथ्याङ्कअनुसार यस सिजनमा ७९ देशका आरोही नेपाल आएका छन् । सबैभन्दा बढी चीनबाट १५६ जना र अमेरिकाबाट १५० जना आरोहीले अनुमति लिएका छन् । भारतबाट ९७ जना, बेलायतबाट ७४ जना र रसियाबाट ७० जना आरोही नेपाल आएका छन् ।

नेपालका तर्फबाट ४३ जना आरोहीले विभिन्न हिमाल आरोहणका लागि अनुमति प्राप्त गरेका छन् । तीमध्ये ४ महिला र ३९ पुरुष रहेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट