अवार्ड विजेता ६ चिनियाँ फिल्मको नेपाल प्रदर्शन सुरु
काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्महरूको प्रदर्शन काठमाडौंमा मंगलबारबाट सुरु भएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’अन्तर्गतको यस कार्यक्रम सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शनसँगै सुरु भएको हो।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेको हो। ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, विशेष अतिथिहरू नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, नेपालका वरिष्ठ निर्देशक तुलसी घिमिरेलगायतको उपस्थिति थियो।
प्रतिष्ठानका अध्यक्ष पाठकले स्वागत मन्तव्य राख्दै यस प्रकारका कार्यक्रमले नेपाल र चीनबिचको मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास राखे। चीनमा नेपाली फिल्म वितरण र प्रदर्शनको पक्षमा सहयोग पुग्ने उनको अपेक्षा छ।
मिनिस्टर काउन्सिलर पानले चलचित्र मनोरञ्जनको साधन मात्रै नभएको जिकिर गर्दै भने, ‘चलचित्रले सामाजिक, राजनीतिक र सामाजिक परिवेश बुझ्न सहयोग गर्छ। यसले दुई देशको सम्बन्धमा थप निकटता ल्याउँछ। यस्ता कार्यक्रमको उद्देश्य नै यही हो।’ यस्ता कार्यक्रमले दुई देशका चलचित्रकर्मीबिच व्यावसायिक सहकार्यको बाटो खुलाउने उनले धारणा व्यक्त गरे।
निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्म प्रदर्शन र वितरणमा सहयोग र सहकार्यको आवश्यक रहेको बताउँदै सहजीकरणका लागि आग्रह गरे। फिल्म ‘ट्रयाप्ड’ प्रदर्शनपश्चात् निर्देशक झानसँग दर्शक र पत्रकारहरूले अन्तर्क्रियासमेत गरेका थिए।
निर्देशक झानले आफ्नो किशोर अवस्थाको कालखण्डमा आफूले देखेको र सम्झना रहेको परिदृश्यलाई उतार्न यो फिल्म बनाएको बताए। उनले भने, ‘त्यो समयमा मैले देखेको र सम्झना भएको विषयहरूलाई फिल्ममा उतारेको छु। तथापि, यो फिल्मको कथा पूर्ण काल्पनिक हो।’
काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा बिहीबारसम्म जारी रहनेछ।
कार्यक्रमको पहिलो दिन अन्य दुई फिल्म ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएको छ।
क्याटेगोरी : मनोरञ्जन, समाचार













प्रतिक्रिया