Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

‘दाई दाई’ विश्वकपको सर्वकालिन उत्कृष्ट गीत घोषित, ‘वाका वाका’ दोस्रोमा


काठमाडौं । शाकिरा र बर्ना ब्वायको संयुक्त गीत ‘दाई दाई’ विश्वकप फुटबल इतिहासकै सर्वकालिन उत्कृष्ट गीत घोषित भएको दाबी गरिएको छ ।

प्रतिष्ठित संगीत म्यागजिन बिलबोर्डले पाठक सर्वेक्षणका आधारमा सार्वजनिक गरेको सूचीमा ‘दाई दाई’ले ३१.२८ प्रतिशत मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको उल्लेख छ ।

सोही सूचीमा शाकिराकै चर्चित अघिल्लो विश्वकप गीत ‘वाका वाका : दिस टाइम फर अफ्रिका’ २६.६४ प्रतिशत मतसहित दोस्रो स्थानमा परेको बताइएको छ ।

बिलबोर्डका अनुसार सन् १९९० यताका फिफा विश्वकपका आधिकारिक गीतहरूलाई समेटेर गरिएको मतदानमा पाठकहरूले आफ्नो मनपर्ने गीत चयन गरेका थिए ।

यस वर्ष सार्वजनिक गरिएको फिफा विश्वकप २०२६ को आधिकारिक गीतले अफ्रोबिट्स, डान्स–पप, रेगेटोन र विश्व संगीतको मिश्रणमार्फत खेलको एकता र उत्साहलाई प्रस्तुत गरेको बताइन्छ ।

गीतमा डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सीजस्ता चर्चित फुटबल खेलाडीहरूको उल्लेखसमेत गरिएको छ ।

सूचीको तेस्रो स्थानमा सन् १९९८ फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले गाएको ‘कप अफ लाइफ (ला कोपा दे ला भिडा)’ रहेको छ, जसले करिब २५ प्रतिशत मत प्राप्त गरेको दाबी गरिएको छ ।

त्यस्तै, पिटबुल, जेनिफर लोपेज र क्लाउडिया लेइटेको ‘ओले ओला (वी आर वन)’ तथा इल डिभो र टोनी ब्र्याक्सटनको ‘द टाइम अफ आवर लाइभ्स’ पनि लोकप्रिय सूचीमा परेका छन् ।


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


ताजा अपडेट