Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

विश्वकपमा मेस्सी–एम्बाप्पे गोल रेस : एकले रेकर्ड बनाउँदा अर्कोले पछ्याउँदै


काठमाडौं । २०२६ फिफा विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेबीच सर्वकालीन गोल रेकर्डका लागि रोचक प्रतिस्पर्धा देखिएको छ।

समूह चरणको पहिलो खेलमा मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको विश्वकप रेकर्ड बराबरी गरेका थिए। उता फ्रान्सका एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १४ पुर्‍याएका थिए।

सोमबार भएको खेलमा मेस्सीले अस्ट्रियाविरुद्ध दुई गोल थप्दै विश्वकप इतिहासमा सर्वाधिक १८ गोल गर्ने खेलाडी बने। उनले क्लोजको १६ गोलको कीर्तिमानलाई पछि पार्दै नयाँ इतिहास रचेका हुन्।तर मेस्सीको रेकर्ड धेरै समय एक्लै रहेन। केही घण्टापछि इराकविरुद्धको खेलमा एम्बाप्पेले पनि दुई गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १६ पुर्‍याए। यससँगै उनले क्लोजको कीर्तिमान बराबरी गर्दै मेस्सीभन्दा केवल दुई गोलले पछि परेका छन्।

हाल मेस्सी १८ गोलसहित विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन् भने एम्बाप्पे १६ गोलसहित दोस्रो स्थानमा रहेका छन्। विशेष कुरा के छ भने एम्बाप्पेले यो उपलब्धि मेस्सीभन्दा निकै कम खेलमा हासिल गरेका छन्।अर्जेन्टिना र फ्रान्स दुवै टोली नकआउट चरणमा पुगिसकेकाले आगामी खेलहरूमा यो दूरी अझ घट्न वा बढ्न सक्ने सम्भावना छ। फुटबल समर्थकहरूको ध्यान अहिले ट्रफीको प्रतिस्पर्धासँगै मेस्सी र एम्बाप्पेबीचको गोल रेसमा पनि केन्द्रित भएको छ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट