तीनवटै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा
काठमाडौं । तीनवटै सरकारी बैंकका सञ्चालक समिति अध्यक्षले राजीनामा दिएका छन् । कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल र नेपाल बैंकका अध्यक्ष प्राध्यापक डा. डिल्लीराज शर्माले राजीनामा दिएका छन ।
राष्ट्रिय वाणिज्य बैंकका सबै सञ्चालकले राजीनामा दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा थानप्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, सूर्यबहादुर राना र हरिकुमार सिलवाल सञ्चालक समिति सदस्य छन् ।
सरकारले तीनवटै बैंकका अध्यक्षलाई मन्त्रालयमा बोलाएर राजीनामा गरेर सरकारलाई सहयोग गर्न आग्रह गरेपछि उनीहरुले राजीनामा दिएको अर्थ मन्त्रालय स्रोतले क्लिकमान्डुलाई जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर काम गरेका ढकाललाई सरकारले गत साउन २ मा, गत भदौ १८ मा स्वतन्त्र संचालक नियुक्त भएर २ दिनपछि शर्मा नेपाल बैंकको अध्यक्ष भएका थिए ।
गत भदौ १९ मा सरकारले पौडेललाई सञ्चालक समिति अध्यक्ष सदस्य बनाएको र सञ्चालक समिति सदस्यबाट उनलाई कृषि विकास बैंकको अध्यक्ष बनाएको थियो ।
सरकारले यही वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेर सबै राजनीतिक नियुक्ति खारेज गरेको छ ।
सरकारले नेपाल राष्ट्र बैंक ऐनलाई भने उक्त अध्यादेशमा समावेश नगरेका कारण बैंकिङ क्षेत्रमा भएको नियुक्ति जोगिएको छ । सरकारले राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई जोगाएर अरु सबैजसो सरकारी नियुक्ति खारेज गरेको छ ।
सरकारले ल्याएको अध्यादेशबाट १०८ वटा निकायका १५९४ पदाधिकारीको नियुक्ति खारेज भएको छ ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया