Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

अमेरिकाविरुद्ध नेपाल मैदानमा : हारको बदला लिने लक्ष्यमा घरेलु टोली


आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदान मा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाली टोली बलिङमा उत्रिएको हो ।

आजको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । अघिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको नेपाल अमेरिकाविरुद्ध जित निकाल्दै हारको बदला लिने लक्ष्यमा रहेको छ । अमेरिका भने आफ्नो विजयी लयलाई निरन्तरता दिने उद्देश्यसहित मैदानमा उत्रिएको छ ।

लिग–२ अन्तर्गत यसअघि भएका खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले पराजित गरेको थियो । हाल जारी शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

आजको खेलबाट नेपाली टोलीमा ईशान पाण्डेले डेब्यु गरेका छन् भने कुशल भुर्तेल टोलीमा पुनरागमन गरेका छन् । विनोद भण्डारी, अर्जुन कुमाल र करण केसीलाई भने बेन्चमा राखिएको छ ।

नेपालको सुरुवाती ११ मा कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

लिग–२ को अंकतालिकामा नेपालले हालसम्म २५ खेलबाट १८ अंक जोड्दै आठौँ स्थानमा रहेको छ । अमेरिका समान खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ भने ३० खेलबाट ३८ अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा रहेको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट